काठमाडौं । नेपाल प्रहरीमा आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरिएको छ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरिएको हो।
उक्त अवसरमा प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीको सियुजी सेवामा आबद्ध आधारभूत तहका प्रहरी कार्यालयका सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना प्रहरी कर्मचारीहरूको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फर्म लिंक पठाएका थिए। केसीले एक प्रहरी कर्मचारीसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरी उनको गुनासो सुनेर उक्त डेस्कको औपचारिक शुभारम्भ गरेका हुन्।
प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको डेस्कको प्रमुख उद्देश्य नेपाल प्रहरीमा कार्यरत आधारभूत तहका प्रहरी कर्मचारीहरूको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको बताइएको छ।
प्रहरी महानिरीक्षक केसीले सम्बोधनका क्रममा आधारभूत तहका प्रहरी कर्मचारीहरूले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा विविध गुनासाहरूको निष्पक्ष सुनुवाइ गरी समयमै उचित सम्बोधन गर्ने प्रभावकारी संयन्त्रका रूपमा कार्य गर्न डेस्कमा खटिएका प्रहरी अधिकारीहरूलाई निर्देशनसमेत प्रदान गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया