काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ ।
शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग आयोगमा भएको छलफलका क्रममा निर्वाचनको सम्भावित कार्यतालिका प्रस्तुत गर्दै आयोगले यस्तो प्रस्ताव गरेको हो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छलफलका लागि आयोग पुगेका थिए । तर उनले पार्टीका तर्फबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी गराएर आफू बाहिरिएका थिए ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो भने सोही वर्ष मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते समाप्त हुँदैछ ।
संवैधानिक व्यवस्थाअनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुन करिब पाँच महिना बाँकी रहँदा आयोगले आगामी निर्वाचनको तयारी र मितिबारे राजनीतिक दलहरूसँग छलफल अघि बढाएको हो ।
आयोगले प्रस्ताव गरेको तालिकाअनुसार स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा हुने देखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया