मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र

नयाँ राजदूतको कार्यभार ग्रहणसँगै नेपाल–भारतबीचको कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ। उहाँले बिहीबार नयाँदिल्लीस्थित नेपाली राजदूतावास पुगेर औपचारिक रूपमा आफ्नो पदभारसमेत ग्रहण गर्नुभएको छ।

भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको हो। सो अवसरमा नेपालका राजदूत डा. पाण्डेसँगै ग्रीसका राजदूत जर्जियोस पेटमेजाकिस र स्पेनका राजदूत अल्फ्रेडो मार्टिनेज सेरानोले पनि ओहोदाको प्रमाणपत्र बुझाउनुभएको थियो।

भारतको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा डा. पाण्डेलाई नेपालका राजदूतका रूपमा उल्लेख गर्दै उहाँले राष्ट्रपति मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको जनाएको छ।

ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै राजदूत पाण्डे नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावास पुग्नुभएको थियो। उहाँले दूतावासको कार्यालयमा पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो। उहाँ गत मंगलबार नयाँदिल्ली पुग्नुभएको थियो। दिल्ली पुगेको करिब ४८ घण्टाभित्रै उहाँले भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर १ गते मन्त्रिपरिषद्को सिफारिसमा डा. पाण्डेलाई भारतका लागि नेपालको राजदूत नियुक्त गर्नुभएको थियो। नियुक्तिपछि उहाँले सोही दिन राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो।

नयाँ राजदूतको कार्यभार ग्रहणसँगै नेपाल–भारतबीचको कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने, उच्चस्तरीय राजनीतिक संवादलाई निरन्तरता दिने तथा द्विपक्षीय सहयोगका विविध क्षेत्रलाई अघि बढाउने जिम्मेवारी उहाँको काँधमा आएको छ।

विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बर २२ देखि हुने भनिएको भारत भ्रमणको तयारीका सन्दर्भमा पनि नयाँ राजदूतको जिम्मेवारी ग्रहणलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, ऊर्जा, पूर्वाधार, पारवहन तथा जनस्तरमा बहुआयामिक सम्बन्ध रहँदै आएको छ। यी क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा संवाद अघि बढाउने र दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिने प्रमुख जिम्मेवारी अब राजदूत पाण्डेको हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार