मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

फर्जी विद्यार्थी प्रकरण ठुला विद्यालय मन्त्रालयको निगरानीमा

मुलुकभरका सामुदायिक विद्यालयबाट करिब दुई लाख फर्जी विद्यार्थी देखाएर सरकारी अनुदान लिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर ७ गते । फर्जी विद्यार्थी देखाएर सरकारी अनुदान दुरुपयोग गरेको विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले ठुला विद्यालयलाई निगरानीमा राखेर छानबिन सुरु गरेको छ । मन्त्रालयले सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा समिति बनाएर छानबिन सुरु गरेको हो । यो छानबिनमा समितिले धेरै विद्यार्थी पढिरहेका विद्यालयलाई केन्द्रित गरेको छ । यस्ता विद्यालयमा भर्नाको समयमा अत्यधिक धेरै विद्यार्थी देखिने तर केही विद्यार्थी बिचैमा छोडेर अन्यत्र जाने वा विद्यालय नियमित नआउने समस्या देखिएको छ ।

तर एक पटक देखिएको तथ्याङ्कका आधारमा सरकारी अनुदान भने निकासा भइरहेको हो कि भन्ने आशङ्का सरकारी अध्ययन टोलीले गरेको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार मुलुकभरका सामुदायिक विद्यालयबाट करिब दुई लाख फर्जी विद्यार्थी देखाएर सरकारी अनुदान लिएको देखिएको छ । कतिपय अवस्थामा भने सरकारी अनुदान लिने समयमा साना विद्यालयले जबरजस्ती विद्यार्थी भर्ना गरिएको नक्कली तथ्याङ्क केन्द्रमा पेस गर्ने र सोही अनुसार सरकारी अनुदान लिने गरेको आशङ्का पनि मन्त्रालयले गरेको छ । यस विषयमा मन्त्रालय तथा शिक्षा विभागमा उजुरी आएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा छानबिन समितिका संयोजक सापकोटाका अनुसार यस्तो उजुरी विगतमा पटक पटक आएको थियो । कतिपय साना विद्यालय प्रशासनले भने आफ्नो विद्यालय अन्यत्रै गाभिने भएका कारण जबरजस्ती भर्नाको समयमा नक्कली विद्यार्थी खडा गरेर तथ्याङ्क देखाउने गरेको उजुरी पनि मन्त्रालयमा आउने गरेको छ । अति धेरै विद्यार्थी भएका र विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून रहेका विद्यालयमा फर्जी विद्यार्थीको समस्या रहेको आशङ्का मन्त्रालयले गरेको छ । “विगतमा म जिल्ला शिक्षा अधिकारी हुँदा धेरै विद्यालयमा भर्नाको समयमा मात्रै धेरै विद्यार्थी देखाएर उक्त विद्यालयलाई अन्यत्रै गाभ्नबाट जोगाउने तर पढाइ हुने समयमा भने शून्य विद्यार्थी भएको देखेको थिएँ,” सापकोटाले भन्नुभयो, “त्यस्ता विद्यालयमा अनुगमन गर्न जाँदा भने विद्यार्थी नै नहुने अवस्था पनि देखिएको थियो । अहिले पनि कतै कतै यस्तै प्रवृत्ति दोहोरिएको छ कि भन्ने शङ्का छ ।”

अहिले सामुदायिक विद्यालयमा सरकारले दिवा खाजा, विभिन्न प्रकारका छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, निःशुल्क स्यानिटरी प्याड, विशेष आवश्यकता भएका विद्यार्थीलाई सिकाइ सामग्री तथा प्रविधिमा अनुदानलगायतका शीर्षकमा सहायता दिने गरेको छ ।

त्यसबाहेक विद्यार्थी सङ्ख्या धेरै भएका तर शिक्षक अपुग भएका विद्यालयमा शिक्षक व्यवस्थापनका लागि पनि थप अनुदान दिने गरिएको छ । साथै प्रदेश र स्थानीय सरकारले विपन्न र आर्थिक अवस्था कमजोर रहेका बालबालिकालाई पोसाक, झोला खरिदका लागि पनि अनुदान दिने गरेको छ ।

पछिल्लो समय शिक्षा विभागले २०८१ सालदेखि हरेक विद्यालयमा भर्ना भएका विद्यार्थीलाई कोड नम्बर दिने गरेको छ । अहिले हरेक दिन मुलुकभरका सामुदायिक विद्यालयमा कति विद्यार्थी भर्ना भए वा कुन दिन विद्यालयमा विद्यार्थी उपस्थित भए र कुन दिन भएनन् भन्ने तथ्याङ्क शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) उपलब्ध हुन्छ । साथै विद्यार्थीले एक पटक पाएको कोड कक्षा १२ सम्मै एउटै रहन्छ । एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुने विद्यार्थीको कोड नम्बर पनि सँगै स्थानान्तरण हुन्छ । यो व्यवस्थाले गर्दा हरेक वर्ष कति विद्यार्थी भर्ना भए वा कतिले विद्यालय छोडे भन्ने तथ्याङ्क पनि सहजै उपलब्ध हुन्छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया