मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

सेल ब्रडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकै पटक आपत्कालीन सूचना प्रवाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । विपद्को जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा आज उक्त प्रणालीको परीक्षण गरिएको हो ।

सूचना तथा सञ्चार मन्त्री डा.विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित टावरबाट परीक्षण सन्देश प्रवाह गरिएको थियो ।

फोनमा हाई–अलर्ट सन्देश, नआत्तिन सरकारकाे आग्रहपरीक्षणका क्रममा आज साँझ काठमाडौँको निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ उल्लेख गरिएको सन्देश पठाइएको थियो । मोबाइलमा सन्देश प्राप्त हुँदा सामान्य सन्देशभन्दा फरक चेतावनी ध्वनि र कम्पन समेत आएको थियो ।

सेल ब्रडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकै पटक आपत्कालीन सूचना प्रवाह गर्न सकिन्छ । यसका लागि प्रत्येक व्यक्तिको मोबाइल नम्बरमा छुट्टाछुट्टै सन्देश पठाउनुपर्ने वा इन्टरनेटको आवश्यकता पर्दैन । मोबाइल सेवा प्रदायकको नेटवर्कमा जोडिएका लक्षित क्षेत्रका मोबाइल फोनमा एकै पटक सूचना पु¥याउन सकिने भएकाले नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा समेत यस प्रणालीबाट प्रभावकारी रूपमा सन्देश प्रवाह गर्न सकिनेछ ।

यस प्रणालीको अर्को विशेषता भनेको प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण सङ्कलन नगरी लक्षित भौगोलिक क्षेत्रमा सूचना पु¥याउन सक्नु हो । यस प्रविधिको प्रयोगबाट बाढीपहिरो, हिमताल विस्फोटजन्य बाढी, भूकम्प तथा प्रतिकूल मौसमलगायत विपद्का सम्भावित जोखिमबारे पूर्वसूचना र आवश्यक सुरक्षा निर्देशन जोखिममा रहेका क्षेत्रका नागरिकसम्म समयमै पुर्‍याउन सकिनेछ ।

प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप परिष्कृत गर्दै उच्च विपद् जोखिम भएका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

विपद्का समयमा नागरिकलाई समयमै सचेत गराउन, सुरक्षित स्थानमा जान आवश्यक निर्देशन उपलब्ध गराउन तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न यस प्रणालीले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु
२०८३ मंग्सिर ७, सोमबार
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार