मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

भिड नियन्त्रणका लागि शक्तिशाली गण स्थापना गर्दै प्रहरी

केन्द्रीय अनुसन्धान ब्युरो, स्टाफ कलेज, साइबर ब्युरो, विधि विज्ञान प्रयोगशालालगायत निकायमा दरबन्दी थप्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं- भिड नियन्त्रणमा मात्र खटाउने गरी नेपाल प्रहरीमा शक्तिशाली गण स्थापनाको प्रक्रिया अघि बढेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा एक हजार जनशक्ति रहने गरी ‘द्रुत कारबाही गण’ स्थापना गर्न लागिएको हो । गणका लागि दरबन्दी थपसम्बन्धी प्रस्ताव गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ ।

विगतमा भिड नियन्त्रणमा भएका कमजोरीबाट सिकेर विशेष तालिमसहितको गण स्थापना गर्न लागिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहत हुने यस्तो गण स्थानीय प्रहरीले सहयोग मागेको अवस्थामा खटिन्छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार केन्द्रीय रिजर्भ फौजका रूपमा यसलाई विकास गर्ने अवधारणा छ ।

प्रहरीमा समग्रमा एक हजार ६७८ दरबन्दी थपको प्रस्ताव अघि बढेको छ । नयाँ कार्यालयका रूपमा भने गण मात्र स्थापना गर्न लागिएको छ । बाँकी दरबन्दी हालै कार्यालयमा थप्न लागिएको एक उच्च प्रहरी अधिकारीले बताए । केन्द्रीय अनुसन्धान ब्युरो, स्टाफ कलेज, साइबर ब्युरो, विधि विज्ञान प्रयोगशालालगायत निकायमा दरबन्दी थप्न लागिएको छ । सुरुमा प्रहरीले दुई हजार १९४ दरबन्दी थपको प्रस्ताव गरेको थियो । पछि संशोधन गरी एक हजार ६७८ मा सहमति जुटेको हो । यसमा ठुलो बजेट पनि आवश्यक हुने भएकाले अर्थ मन्त्रालयको सहमति महत्वपूर्ण हुनेछ । अर्थसँग पनि प्रारम्भिक छलफल गरेरै प्रस्ताव अघि बढेको स्रोत बताउँछ ।

नियमित शान्तिसुरक्षा र भिड नियन्त्रणमा हाल एउटै फौज खटिने गरेको छ । जसले गर्दा भिड नियन्त्रणमा कमजोरी  बाहिरिँदै आएको छ । अर्कोतर्फ फिल्डमा पनि समन्वय राम्रो हुने गरेको छैन । गत वर्षको जेन–जी अन्दोलनमा पनि त्यो समस्या देखिएको थियो । २३ भदौमा भिड नियन्त्रणमा कमजोर भएकै कारण अत्यधिक बल प्रयोग हुन गएको प्रहरी अधिकारी बताउँछन् ।

हाल सामान्य प्रदर्शनमा पनि अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बललाई खटाउनुपर्ने अवस्था छ । अब, प्रहरीको द्रुत कारबाही गणले पनि नसकेको अवस्था मात्र सशस्त्र प्रहरी खटाउने गरी गृह मन्त्रालयले रणनीति बनाइरहेको छ । जनशक्ति थपसँगै भिड नियन्त्रणसँग सम्बन्धित सामग्री खरिदमा पनि गृह र प्रहरीबिच छलफल चलिरहेको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया