काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वले गत असोज १८ गतेदेखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । विशेष महाधिवेशनको विपक्षमा रहेको र १५औँ महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर महाधिवेशन गर्दै छ । देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ नियमित महाधिवेशनको मिति तय गरेको छ ।
देउवा समूहले महाधिवेशनअन्तर्गत हाल प्रदेश अधिवेशन गरिरहेको छ । पार्टीको संस्थापन पक्ष र १४औँ महाधिवेशनबाट निर्वाचित संस्थापन पक्ष (देउवा समूह) आ–आफ्नै ढंगले अघि बढिरहेका छन् । १४औँ महाधिवेशनमा सभापति देउवाका निकटतम् प्रतिस्पर्धी रहनुभएका डा. शेखर कोइराला भने दुवै पक्षका महाधिवेशन प्रक्रियामा सहभागी हुनुभएको छैन । पार्टीभित्रको पछिल्लो विषम परिस्थितिमा कोइराला कुन पक्षमा उभिनुहुन्छ वा दुवै पक्षलाई मिलाउन कस्तो भूमिका खेल्नुहुन्छ भन्ने विषय अहिले कांग्रेस वृत्तमा चासोको विषय बनेको छ । तर, संस्थापन र देउवा समूहको महाधिवेशनमा सहभागी नहुनुभएका नेता शेखर कोइराला भने पार्टी एकताका लागि भन्दै देशव्यापी अभियान चलाउने गृहकार्यमा जुट्नुभएको छ ।
कांग्रेसभित्र दुईवटा महाधिवेशन र समानान्तर नेतृत्वको अभ्यासले पार्टी विभाजनको जोखिम बढेको भन्दै नेता कोइराला समूह दुवै पक्षबाट अलग रहेर पार्टी एकताको अभियान अघि बढाउने तयारीमा जुटेको हो । कोइरालानिकट समूहका नेताहरूले फुटेर अलग भएका दुवै पक्षलाई पुनः एउटै पार्टीमा फर्काउने अभियानको तयारीमा भइरहेको जानकारी दिएका छन् ।
गत वर्ष पुस अन्तिम साता तत्कालीन केन्द्रीय कार्यसमितिको सहमतिबिना भएको विशेष महाधिवेशनपछि सुरु भएको नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवासहितका नेताहरूले विशेष महाधिवेशन अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा दायर गरेको रिटको छिनोफानो भएको छैन । विवादका कारण दुई महाधिवेशन भइरहँदा शेखर कोइरालाले समूह भने दुवै महाधिवेशनमा सहभागी नभएर तटस्थ बसेको छ । दुवैतिरका महाधिवेशनमा सहभागी नहुनेमा १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित बद्री पाण्डे, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, सञ्जय गौतम, सरिता प्रसाईं, कांग्रेसबाट विराटनगर महानगरपालिकाको प्रमुख रहनुभएका नागेश कोइराला, राष्ट्रियसभा सदस्यसमेत रहनुभएका आनन्दप्रसाद ढुंगाना, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का निवर्तमान अध्यक्ष दुजाङ शेर्पा, कांग्रेसको इञ्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल (सिडेन) का पूर्वअध्यक्ष उमेश थानीसहितका नेताहरू छन् । शेर्पा र थानी कोइराला समूहको नभए पनि कुनै पनि महाधिवेशनमा सहभागी भएका छैनन् । पार्टी एकताका लागि पहल गर्ने उद्देश्यका साथ दुवै महाधिवेशनमा नगएर आफूहरू तटस्थ बसेको जानकारी दिँदै पूर्वसहमहामन्त्री पाण्डेले भन्नुभयो, ‘एकताको अधिवेशन गर्नुपर्छ भन्ने प्रयासमा रह्यौँ । अन्तिमसम्म प्रयास गरेकै हो । तर, सफल हुन सकेनौँ । दुवै अधिवेशनमा नगएर तटस्थ बसेर एकताका लागि पहल गर्ने उद्देश्य हाम्रो हो । दुईवटै समूहका अधिवेशन सम्पन्न भइसकेपछि एकताका लागि दुवै पक्षका नेताहरूसँग वार्ता र छलफल गछौंँ ।’ डा. कोइरालाले १४ औँ महाधिवेशनमा देउवासँग प्यानलै बनाएर प्रतिस्पर्धा गर्नुभएको थियो ।
कोइराला प्यानलबाट जितेका नेताहरू उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरूमा प्राडा. गोविन्द पोखरेल, दीपक गिरी, रामकृष्ण यादव, अर्जुननरसिंह केसी, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, मधु आचार्य, प्रतिमा गौतम, प्रकाश रसाइली, डा. चन्द्रमोहन यादव, मुक्ताकुमारी यादवसहितले केन्द्रीय सदस्यहरू अहिले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले गरेको १५औँ महाधिवेशनमा सहभागी भएका छन् । अघिल्लो महाधिवेशनमा कोइराला समूहबाट केन्द्रीय सदस्य जितेका केही नेताहरू भने देउवा समूहमा लागेका छन् ।
अधिकांश नेताहरू दुई समूहमा लागेपछि कोइराला समूह अहिले कमजोर अवस्थामा छ । डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दुवै समूहमा नलाग्दा कमजोर भएको स्वीकार गर्नुभएको छ । पार्टी एक रहनुको विकल्प नरहेको निष्कर्षसहित दुवै समूहका महाधिवेशनमा सहभागी नहुने निर्णय गर्नुभएका डा. कोइराला विभाजित अवस्थाको कांग्रेसलाई एक बनाउने अभियानको तयारीमा रहनुभएको जानकारी दिँदै थपलियाले भन्नुभयो, ‘समूह सानो भएको छ । स्वाभाविक पनि छ । पार्टी मिल्दा को कता भन्ने हुन्न । मुद्दा स्थापित हुन्छ । पार्टी मिल्नुको विकल्प छैन । पार्टी एकता कायम रहनुपर्छ भन्ने उहाँको अहिले पनि अडान हो ।’ नेता डा.शेखर कोइरालाले केही समयअघि नै देशभर ‘पार्टी एकता’ अभियान चलाउने अभिव्यक्ति सार्वजनिक गर्नुभएको थियो । कांग्रेस एकताका लागि अभियान चलाउने जानकारी दिँदै डा.कोइरालाले भन्नुभएको थियो, ‘भरोसा र विश्वासबाट साधारणभन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुटन सक्छ । अभियानमा म गाउँ टोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने साथीहरूलाई पार्टीलाई एकताबद्ध राख्न दृढ संकल्पका साथ यस अभियान (पार्टी एकता) मा जुट्न हार्दिक अनुरोध गर्दछु ।’ डा.शेखर समूहले संस्थापन र देउवा पक्षबाट विस्तारै नेताहरू एकताको अभियानमा जुट्ने विश्वास लिएको छ ।
देउवा पक्षलाई रूख र झण्डा प्रयोग गर्न नदिने
नेपाली कांग्रेसले देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न रूख र चारतारे झण्डाको प्रयोग रोक्न माग गर्दै निर्वाचन आयोग जाने तयारी गरेको छ । १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको अवस्थामा देउवा समूहले रूख र चारतारे झण्डा प्रयोग गर्दै समानान्तर महाधिवेशन अघि बढाएपछि कांग्रेस आयोग जान लागेको हो । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गराएर देउवा समूहको महाधिवेशनमा पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डा प्रयोग गर्न नदिन माग गर्ने तयारी गरेको जानकारी दिँदै एक नेताले हिमालय टाइम्सलाई भने, ‘एउटै पार्टीको दुईवटा महाधिवेशन हुन सक्दैन । कांग्रेसको महाधिवेशन सम्पन्न भएर निर्वाचित केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको छ । कांग्रेसको रूख र झण्डा प्रयोग गरेर अर्को महाधिवेशन गर्न मिल्दैन । त्यसैले हामी आयोग जान्छौँ ।’ देउवा समूह भने पार्टीको चुनाव चिह्न रूख र चारतारे झण्डा प्रयोग गर्दै वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै प्रदेश अधिवेशनहरू गरिरहेको छ । देउवा समूहले हालसम्म ६० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ ।
यस्तै, १३९ स्थानमा क्षेत्रीय र दुई प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको बताइएको छ । देउवा समूह महाधिवेशनको तयारीमा निरन्तर अघि बढिरहेका बेला संस्थापन पक्षले कारबाहीको चेतावनी दिएको छ । समानान्तर गतिविधिमा संलग्न पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने सभापति गगन थापाले चेतावनी दिनुभएको छ । देउवा पक्षमा रहेका जनप्रतिनिधिले भने कारबाही गरेर देखाउन थापालाई चुनौती दिएका छन् ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया