श्रावण ३, २०८२ शनिबार July 19, 2025

पार्टी एकता जोगाउन ओली सच्चिनुपर्छ- उपाध्यक्ष गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनुपर्ने बताएका छन्।

बिहीबार आफ्नो निवास भैंसेपाटीमा भेट्न आएका अनेरास्ववियूका विद्यार्थी नेताहरूसँगको कुराकानीमा गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जोगाउन भन्दा पनि विभाजनतर्फ अग्रसर भएको बताएका हुन् ।

सचिवालयको बैठकमा दुवै अध्यक्षका तर्फबाट पेस भएका प्रस्तावहरू छलफलका माध्यमबाट नै टुंगो लगाइने गौतमले बताएको उनी निकट अनेरास्ववियूका विद्यार्थी नेता माधव पन्तले जानकारी दिए ।

‘प्रस्तावहरू सचिवालयमा छलफल गरेरै टुंगो लगाइन्छ । त्यहाँ भएन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा जान्छ,’ गौतमको भनाइ उद्धृत गर्दै पन्तले भने,‘तपाईं विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुस् । म पूरा रूपमा एकताकै पक्षमा छु । मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेलिरहेको छु ।’

छलफलमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका थिए। ‘पार्टी कमिटीका बैठकमा नै नआउने, विधि, पद्धति मान्दिनँ भनेर उहाँ हिँडिरहनुभएको छ,’ गौतमले विद्यार्थी नेताहरूसँग भने।

अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङको नेतृत्वमा विद्यार्थी नेताहरू उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटी स्थित निवाशमा पुगेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया