असार २८, २०८२ शनिबार July 12, 2025

ऋणपत्र भनेको के हो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई ऋणपत्र भनिन्छ । अझै प्रस्ट रूपमा भन्नुपर्दा कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो ।

तोकिएको दर र समयमा सावाँ र ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरेको धितोपत्रलाई डिबेन्चर भनिन्छ । यसको अंकित मूल्य हुन्छ । लगानीकर्ताले सर्तअनुुसार तोकिएको दरमा ब्याज प्राप्त गर्दछ । कम्पनीले साधारण सेयर र अग्राधिकार सेयरलाई लाभांश बाँड्नुअघि नै ऋणपत्रको लगानीकर्तालाई ब्याज भुक्तानी गर्नुपर्छ । सम्बन्धित संस्था नोक्सानीमा गए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै बाधा पर्दैन ।

लगानीकर्ता र कम्पनीबीच साहु र ऋणीको जस्तै सम्बन्ध हुन्छ । कुनै कारणवश कम्पनीले सर्तअनुसार ब्याज भुक्तानी गर्न नसकेमा लगानीकर्ताहरूले कम्पनीलाई खारेजीमा पठाउनेसम्मको कारबाही गर्न सक्छ । ऋणपत्रका जोखिम उठाउन नचाहने लगानीकर्ताले लगानी गर्न रुचाउँछन् । ऋणपत्रधारीहरू कम्पनीको साधारणसभामा मताधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा उनीहरूको प्रभाव हुँदैन ।

त्यस्तै ब्याजदर पूर्वनिर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारीहरूले नाफामा दाबी गर्न पाउँदैनन् । ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले कम्पनीका लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरिद गर्न ऋणपत्रमार्फत पुँजी उठाइन्छ । पुँजीको आवश्यकता नभएमा केही रकम प्रिमियमबापत थप गरी फिर्ता गर्न सकिने प्रावधान हुन्छ । ऋणपत्रमा दिइने ब्याजलाई अन्य खर्चजस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाइन्छ । जसले गर्दा करको दायित्व कम हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया