काठमाडौंः हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।
नेपाल आयल निगमले गत फागुन ४ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर २ रुपियाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले शुक्रवार विज्ञप्तिमार्फत बताएको छ ।
निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले बताएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ रुपियाँबाट वृद्धि भई ६७ रुपियाँ कायम गरिएको छ ।
हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं–धनगढीका लागि ९० रुपियाँ बढेको छ ।
काठमाडौंबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० रुपियाँ वृद्धि गरिएको छ भने काठमाडौंबाट हुने पर्वतीय उडानमा ७० रुपियाँ बढेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया