काठमाण्डौंः बारा प्रहरीले मानव बेचबिखन मुद्दाका फरार एक अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक नरही गाविस वडा नं. ९ बेलाही टोल बस्ने जगदीश दास रहेका छन् ।
दासलाई शुक्रबार बिहान करैयामाई गाउँपालिका वडा नंं. ८ बाट पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
बि.स.२०६३ साल मङ्सिर २१ गते साँझ ७ बजे काठमाडौँबाट आएको बा२ख ६४१ नम्बरको बसलाई करैया पुलमा दास सहितका चार जनाले कटुवा बन्दुक देखाई रोकेका थिए । उनीहरूले बसका धनी खोटाङको साबिक दिक्तेल गाविस–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.१५ बस्ने ताराकुमार खत्रीलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र घडी लुटपाट गरेका थिए ।
खत्रीलाई दासको घरमा बन्धक बनाइ उनीहरूले फिरौती समेत मागेका थिए । फिरौती रकम नदिए भारतमा लगेर बेच्ने धम्की दिएको भन्दै दाससहित ४ जनाविरुद्ध खत्रीले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिनुभएको थियो ।
प्रतिक्रिया