असार २३, २०८२ सोमबार July 7, 2025

हामी जति वैधानिक हौं, त्योभन्दा बढी ओलीजी वैधानिक होइन  : घनश्याम भुसाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमालेको आधिकारिक लेटरप्याड र यहाँहरूले नै चुन्नुभएका अध्यक्षको हस्ताक्षरमा यहाँ निलम्बनमा परेको सार्वजनिक भएको छ । तपाईं अबको ६ महिना एमाले पार्टीमा हुनुहुन्न भनेर बुझ्ने हो ?

उहाँको नजरमा हामी अवैध छौं, हाम्रो नजरमा उहाँ अवैध हुनुहुन्छ । उहाँले आफ्नो गुटको बैठक बोलाउनुभयो र त्यसलाई पार्टीको केन्द्रीय कमिटी बैठक भन्नुभयो । जुन कुरा तथ्यहरूले खण्डन गर्छन् ।

हामीले मागेको २०७५ जेठ २ को उहाँकै बहुमत भएको कमिटीको बैठक हो । त्योसमेत नदिएर उहाँ जे गर्दै हुनुहुन्छ, त्यो विधिविपरीत छ, पार्टीभित्रको व्यवस्था र न्यायविपरीत छ । यस अर्थमा दाबी गर्ने त्यो एउटा समूह र त्यसको विरोध गर्ने हामी अर्को समूह भयौं । त्यसैले एमालेमा अहिले दुई समूह छ, एउटाले विधि उल्लंघन गरेको छ, एउटाले विधि पुनःस्थापनाको माग गरेको छ ।

यी त तर्क र दाबी भए, तथ्य त यहाँहरू एमालेको सदस्य रहनुभएन भन्ने नै हो नि होइन ?
उहाँले चलाएको समूह, जसले एमालेको लिडरसिप कब्जा गरेको छ । त्यसको नजरमा हामी कारबाहीमा परेका हौं, हाम्रो सदस्यता खारेज भएको छ ।

अबको ६ महिना तपाईंलाई एमालेको उपमहासचिव या महाधिवेशन आयोजक समिति सदस्य या अरू केही भनेर चिन्ने हो ?

अनधिकृत रूपमा कब्जा गरिएको एमालेले जे गरेको छ, त्यसलाई मान्दा एउटा निष्कर्ष हुन्छ । तर जसलाई त्यो अधिकार नै छैन । महाधिवेशनबाट ओलीजी जसरी आउनुभएको हो म र अरू पदाधिकारी पनि त्यसैगरी आएका हुन् । उनीहरूलाई कारबाही गर्न उहाँलाई हाम्रो विधान र नवौं महाधिवेशनले दिँदैन । जसले मुलुककै संविधान हिँडाउनुभएको थियो, जुन बालबाल बचेर आएको छ, अहिले पार्टीको विधान हिँडाउनुभएको छ, हामी बचाउँछौं ।

यहाँहरूकै विधानले त बहुमतको निर्णय पार्टी निर्णय भन्छ नि ?

पुष्टि नगरिएको बहुमत बहुमत हुँदैन । त्यो दाबी मात्रै हो । हिजो महाधिवेशन लड्दा दुई टिम भएर लडेका हौं । केपी ओलीको पक्षका र माधव नेपाल पक्षका दुई समूह औपचारिक रूपमा अगाडि आएका हौं । त्यस हिसाबले आज मैले या उहाँले के पुष्टि गर्नुपर्छ भने नवौं महाधिवेशनले चुनेका सबै मानिसलाई खबर गरेर बैठक गर्नुपर्छ र त्यसको बहुमतले निर्णय गर्नुपर्छ । त्यसले गरेको कारबाही या निर्णय हामी मान्न तयार छौं ।

२०७५ जेठ २ र २०७७ फागुन २८ को विरोधाभासमा तपाईंरूको पार्टी छ । यो अवस्थामा तपाईंको समूहको अबको यात्रा के ?

हाम्रो राजनीतिक जीवनमा उहाँ मभन्दा केही वर्ष अगाडि लाग्नुभयो होला, उहाँभन्दा बढी लाग्ने थुप्रै कमरेडले राजनीतिक जीवन पार्टी निर्माणमा लगाएका हौं । अहिले हेर्दा उहाँले विधि विधानले गौरव आर्जन गरेको पार्टीलाई निजी प्रयोगमा र आफ्ना अतृप्त आकांक्षा पूरा गर्ने गिरोहमा बदल्नुभयो ।

एमालेको पार्टी पंक्तिलाई बताउँछौं, अब हामी जेठ २ का कमिटी ब्युँताउँछौं, ती जनसंगठन र पार्टी कमिटीहरू ब्युँताउँछौं । र, नेकपा एमालेको सम्पूर्ण पार्टी पंक्तिलाई उहाँले गरेका व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी, विसर्जनवादी गतिविधिका बारेमा व्याख्या गर्छौं । त्यो पंक्तिलाई संगठित गरेरै ओलीजीलाई हामी दण्डित गर्छौं ।

त्यो भनेको समानान्तर कमिटी विस्तार गर्ने कुरा हो ?

हामी २०७५ जेठअघिका कमिटी ब्युँताउँछौं । त्यो भनेको आधिकारिक र वैधानिक कमिटीहरू हुन् । त्यसो गर्दा उहाँले जुन बनाउनु हुन्छ, त्यो समानान्तर हुन्छ । उहाँले पछि जन्माएका कमिटी, जम्मा गरेका मानिस, भीडभाडचाहिँ पार्टी बर्बाद पार्न बनाएका गुट हुन् । ती पार्टी कमिटी होइन भन्ने हाम्रो दाबी हो ।

पार्टीलाई आफ्नो गिरोहमा बदल्ने र त्यसलाई चलाउने ओलीजीको आकांक्षा, दुराकांक्षा छ । तर तिनीहरू किन बोल्न सक्दैनन् भन्दा त्यहाँ तिनीहरूले पद, प्रतिष्ठा, इज्जत, नियुक्ति, अरू जायज/नाजायज सबै खालका लाभ लिइरहेका छन् । त्यसैले उनीहरू त्यहाँबाट बोल्न सकेका छैनन्, हामी उनीहरूलाई पनि बताउन चाहन्छौं ।

यसरी समानान्तर गतिविधि गर्नुभन्दा त पार्टी फोडेर गए हुन्छ भन्ने चुनौती अर्को पक्षले दिएको छ नि ?

यो पार्टी हजारौं, लाखौं मानिसको योगदानले बनेको हो । कसैले कसैलाई तँ जा तँ आइज भन्ने कुरा राम्रो होइन । आउनुस् बस्नुस्, छलफल गरौं, विधान ल्याऔं, त्यसका आधारमा कसले के गल्ती गरेको हो/होइन प्रस्ट पारौं भन्ने कुरा लोकतन्त्र, आदर्श र मूल्यको कुरा हो । वैधताको हिसाबले भन्ने हो, हामी जति वैधानिक हौं, त्योभन्दा बढी ओलीजी वैधानिक होइन ।

यो समस्या कसरी समाधान हुन्छ ?

बैठक बोलाएपछि त्यहीँ छलफल गरेर हुन्छ । बैठक बोलाउन नचाहनुको कारण के हो ? दुनियाँलाई उहाँले बताउनुपर्छ । हामी त्यहीँ उत्तर माग्छौं ।

तपाईंकै शब्दमा भन्दा बैठकको माग गर्ने तपाईंहरू, धमाधम कारबाही गर्ने अध्यक्ष ओली । उहाँले बैठककै नचाहेको कारण के हो ?

घटनाले के पुष्टि गर्छ भने उहाँ पार्टी चलाउने मान्छे नै होइन । उहाँ हिजो पनि गुट चलाउनुहुन्थ्यो र अहिले सम्पूर्ण पार्टीलाई आफ्नो गुट बनाउन चाहनु हुन्छ । उहाँले सत्ता भोगका लागि के गर्नु भएन र ? सबै गर्नुभयो । कुर्सीमा म बस्न नपाए भाँचिदिन्छु भन्ने जीवन दर्शन भएका मान्छेले के गर्न चाहन्छ, के गर्न चाहन्न भन्ने प्रश्नै रहेन । उहाँले पार्टीलाई आफ्नो निजी फाइदामा प्रयोग गर्नुभयो । तर पनि नपुग्नु भनेको अतिरिक्त तृष्णा हो ।

तर त्यही प्रवृत्ति र समस्या यहाँहरूको समूहमा पनि देखिन्छ नि ?

योचाहिँ म मान्छु । समस्या ओलीजीमा, माधवजीमा, ममा सबैमा हुन्छ । तर समाधान गर्ने पहिलो तरिका भनेको हाम्रा सबै कुरालाई एकै ठाउँमा राखेर छलफल गर्न तयार हुने हो । आफ्ना कमीकमजोरी विचार गर्न र आफ्ना दाबी पुष्टि गर्न कमिटीमा छलफल गर्न तयार हुनुपर्छ । तर बैठक इन्कार गर्ने, गुटको बैठक बसेर पार्टीको निर्णय भन्ने ओलीजीमा देखिएको विशिष्ट रोग हो ।

ओलीलाई तपाईंहरूले चिनेको नवौं महाधिवेशनपछि मात्रै त होइन, यति धेरै कमजोरी थिए भने नेता कसरी बनाउनुभयो ?

इतिहासमा हेर्दा धेरैजसो माधवजी पार्टी नेतृत्वमा रहनुभयो तर त्यो १५ वर्षमा ओलीजीले गुट बनाउनुभयो । ओलीजीको गुटबन्दीलाई राजनीतिक हिसाबले समाधान गर्नुभन्दा माधवजीले अलिकति केही दिएर, खुसी पारिदिएर, नाजायज रूपले केही थपिदिएर खुसी पार्न सकिन्छ कि भन्ने तरिका अपनाउनुभयो । त्यो उहाँको कमजोरी रह्यो ।

खासगरी नवौं महाधिवेशन, आठौं, सातौं, छैटौं महाधिवेशनका सबै कुरा हेर्दा ओलीजीको खुट्टा पछाडि फर्केको मैले देखेको हुँ । यो कुरा मैले पार्टीमा, उहाँसँगकै क्याबिनेटमा, केन्द्रीय कमिटीमा अथवा स्थायी समितिमा उठाएको छु ।

पहिला माधव नेपालले केपी ओलीलाई दिएर थुमथुम्याएको जस्तो, अहिले माधव नेपालले माग्दा नदिएका कारण समस्या भएको देखिन्छ होइन ?

जित्नेको इतिहास बन्छ भन्ने कोणबाट हेर्दा त यो पनि तर्क होला । संसदीय दलको निर्वाचनका बेला मैले माधवजीलाई ‘ओलीजीको बाटो फरक छ, त्यसो गर्दा हामीले उम्मेदवारी दिनुपर्छ, म दिन्छु’ भनेको थिएँ । माधवजीले ‘ओलीजीका बारेमा तपाईंको टिप्पणीसँग सहमत छु, तर आमरूपमा यो कुरा जनताले थाहा नपाउँदै कदम चाल्दा हामीलाई नै गलत ठान्छन् कि हामीलाई नै पदलोलुप भन्छन् कि’ भन्नेसम्मको कुरा गर्नुभयो । त्यसपछि माधवजीले विधिभन्दा बढी मागेको मैले देखेको छैन ।

कुनै कुरा माधवजीले माग्नुभएको छ भने त्यो विधि नै हो । समग्र पार्टीलाई माधवजीसँगको व्यक्तिगत रिसइबीका कारण सिकार बनाउनु गलत हुन्छ । पार्टीको केन्द्रीय कमिटीले ओलीजीको राजावादी झुकावले गर्दा कुनै हिसाबले सरकारमा लैजान हुन्न भन्दाभन्दै २०६२/०६३ को जनआन्दोलनपछिको संयुक्त सरकारमा माधवजीले उहाँलाई नाजायज हिसाबले उपप्रधानमन्त्री दिनुभयो ।

त्यसअघि उहाँले पार्टी फोड्छु भनेपछि ओली गुटका १४ जनालाई केन्द्रीय कमिटी सदस्य बनाउनुभयो । यस्ता–यस्ता कुरा गरेर उहाँलाई सन्तुष्ट पार्न माधवजीले काम गरिरहनुभयो । अहिलेको सन्दर्भमा हेर्दा माधवजीले बढी मागेको मैले देखेको छैन । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार