असार २८, २०८२ शनिबार July 12, 2025

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ ।

विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो। गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महसुल उठ्न बाँकी थियो ।

मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महसुुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो। धमाधम लाइन काटिन थालेपछि महसुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महसुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।

व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको रु ४० लाख ९९ हजार बक्यौता रकम उठेको गोशलीले बताए। लाइन काटिएकामध्ये २९ ग्राहकले अझै महसुल बुझाउन बाँकी छ ।

विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत् बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था छ ।

लाइन काटिएपछि बक्यौता बुझाएका ग्राहकको घरमा पुनः विद्युत् जडान गरिएको उनले बताए। बक्यौता रकम समयमा असूल उपर गर्नका लागि प्राधिकरणले कडा कदम चाल्नु परेको उनको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया