असार २८, २०८२ शनिबार July 12, 2025

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर असुल्दै बाग्लुङ नगरपालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्यटकलाई लक्षित गरेर बनाइएका पुलबाहेक अन्यमा शुल्क लिने गरेको पाइँदैन । तर‚ पर्वतको कुस्मा नगरपालिका–१ पाङको अदुवाबारी र बागलुङको बागलुङ नगरपालिका–१ लाई जोड्ने कालीगण्डकी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्ने भएको छ ।

विश्वकै लामो झोलुङ्गे पुल भनी दाबी गरिएको ५६७ मिटर लम्बाइ रहेको उक्त पुल तर्न बागलुङ नगरपालिकाले शुल्क तोकेको छ । पर्वत र बाग्लुङ जिल्ला जोड्ने भए पनि बाग्लुङ नगरपालिकाले कुस्मा नगरपालिकासँग सल्लाह नै नगरी एकलौटी शुल्क तोकेको हो ।

नगरपालिकाले मंगलबारदेखि लागु हुने गरी पूर्वाधार उपयोग शीर्षकमा कर तोकेको हो। जसअनुसार साधारण शुल्क प्रतिव्यक्ति २०, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विद्यार्थीका लागि प्रतिव्यक्ति १० र विदेशी नागरिकका लागि ५० रुपैयाँ तोकिएको छ । बाग्लुङ नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई आधार मानेर उक्त निर्णय गरेको हो। धार्मिक गन्तव्यका रूपमा रहेको बाग्लुङ कालिका मन्दिरमा दर्शन गर्न पुग्ने दर्शनार्थी तथा पर्यटकहरूको चहलपहल बढी हुने गरेको अवस्थामा कर लगाईएको हो ।

बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने कर लगाउने निर्णय पर्यटक लक्षित रहेको बताउनुभयो । नेपालमै रहेका कतिपय ठूला प्रोजेक्टहरूमा कर लगाउने चलन रहेको उदाहरण दिँदै उनले करका रूपमा उठाइएको रकमले पुलमा थप व्यवस्थापनका काम गर्ने उहाँले बताउनुभयो ।

पुलमा घुम्न आउनेहरू एकै पटक ठूलो संख्यामा प्रवेश गर्दा घुइँचो भएको र यसले पुलको आयु छोटाउन सक्ने भएका कारण पनि कर लगाइएको नगरप्रमुख पौडेलको दाबी छ । कानुनी रूपमा पनि ठूला पूर्वाधारहरूमा कर लगाउन पाइने उदाहरणअनुसार पुललाई झनै आकर्षक बनाउनका लागि यो निर्णय भएको र यसको विरोध गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

पर्वतको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वतसँग जोडिएको पुल भए पनि बाग्लुङ नगरपालिकाले निर्णय आफूहरुसँग कुनै सहकार्य नगरेको बताउनुभयो । कर उठाउने निर्णय भएपछि आफूकहाँ गुनासो आएको बताउँदै उनले यसबारे बाग्लुङ नगरपालिकासँग कुरा गर्ने बताउनुभयो ।

सामाजिक सञ्जालमा समेत पुलमा कर लगाइनु हास्यास्पद भएको भन्दै नगरपालिकाको आलोचना भएको छ । नागरिकको सहजताका लागि निर्माण गरिएका पुलहरूमा नै कर लगाएर नागरिकलाई नै मारमा पार्नु गलत रहेको नागरिकको गुनासो छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया