काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा बेलायतकी महारानी एलिजाबेथ द्वितीय र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पत्र पठाएकी छन् ।
राष्ट्रपति भण्डारीले एलिजाबेथ द्वितीय र पुटिनलाई नेपालका लागि कोरोनाविरुद्धको खोप खरिदमा सहायता गरिदिन पत्र पठाएकी हुन् । राष्ट्रपति कार्यालयले एलिजाबेथ द्वितीयलाई आइतबार र पुटिनलाई शुक्रबार पत्र पठाएको हो ।
पुटिनलाई पठाइएको पत्र मस्कोस्थित नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा हस्तान्तरण गर्न बाँकी छ । महारानीलाई भने आइतबारै काठमाडौंस्थित दूतावासमार्फत बेलायतको विदेश मन्त्रालयमा प्रेषित गरिएको छ ।
राष्ट्रपति भण्डारीले रुससँग त्यहाँ उत्पादित स्तुपनिक–५ खोप सहयोगका लागि अनुरोध गरेकी हुन् । उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपत्कालीन प्रयोगको मान्यता दिइसकेको छ ।
कोरोना भाइरसको दोस्रो लहर बढेपछि नेपालमा संक्रमण रोक्नका लागि सहयोग भन्दै राष्ट्रपति भण्डारीले सुरुआतमा जेठ १२ गते दक्षिण छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेकी थिइन् । उनले कोविन्दसँग खोप सहयोग गर्न अनुरोध गरेकी थिइन् । -कान्तिपुर दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया