पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको छ । कसरी यो समयमा हुनसक्छ केही आधार दिन सक्नुहुन्छ ?
पदाधिकारी बैठकले निर्णय गरेर बिहीबार केन्द्रीय समितिमा पेस गर्ने भनिएको छ । सभापतिजीले वक्तव्यनै निकालेर भदौमै महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।
सभापतिको वक्तव्य र पदाधिकारी बैठकको निर्णयलाई सकारात्मक लिनुपर्छ । र, हामी महाधिवेशन सफल पार्न गर्नु पर्ने काम गर्न लाग्नुपर्छ । आधारका कुरा गर्दा क्रियाशील सदस्यता धरै जिल्लामा टुंगिसकेको छ । अब १०, १२ जिल्ला बाँकी होलान् । क्रियाशील सदस्यहरूको छानबिन हुँदैछ । त्यहाँ आउने विवाद समाधान भएपछि त अधिवेशन गर्ने प्रक्रियामा हामी गइहाल्छौं ।
तर, जिल्ला जिल्लाका नेता कार्यकर्ताका कुरा सुन्ता त क्रियाशील सदस्यताका विषयमा व्यापक विवाद रहेको बुझिन्छ । तपाईले भनेजस्तै सहजै समाधान हुन्छ त ?
यो सदस्यताका विषयमा कांग्रेसमा मात्र होइन, सबै पार्टीमा विवाद हुन्छ । तर, त्यसलाई कसरी समाधान गर्ने भन्ने हो । समाधान गर्न नेतृत्व नै लाग्यो गाह्रो छैन, हुन्न । सभापतिले नै १४ औँ महाअधिवेशन आफू प्रतिबद्ध रहेको बताइसक्नु भएको छ ।
त्यसबाट हामीले सभापति मोडालिटी चेन्ज गरेर भए पनि महाधिवेशन गर्न तयार हुनुहुन्छ भन्ने बुझेका छौं । संविधानतः पनि हामीले भदौभित्र गर्नु पर्नेछ । संविधानले महाधिवेशन भनेको छैन, संविधानले निर्वाचन भनेको छ । मोडालिटी चेन्ज गरिकन जिल्ला जिल्लामा, प्रदेशमा प्रादेशिक प्रदेशको क्षेत्रहरुमा हामीहरुले निर्वाचन गयौँ भने हुनसक्छ ।
यस्तो कोभिड–१९ महामारीमा प्रतिनिधिले भाग लिएर महाधिवेशन गर्ने सम्भावना रहन्छ त ?
महाधिवेशन गर्न इच्छाशक्ति हुनुपर्छ । साँढे चार हजार क्रियाशीलको निर्वाचन हुनसक्दैन् । चौध हजारको कसरी गर्नुभयो ? भनेर तपाँईहरुले कोरोनाको कहरको बेलामा प्रश्न गरेको होइन ? १४ हजारको अनि तपाँईँहरुले भोट हालेको होइन । तपाँईहरुले गर्नहुने नेपाली काँग्रेसले गर्नसक्दैन । सभापतिलगायत अरु साथीहरुको इच्छाशक्ति भएमा सम्भव छ ।
सभापति देउवाले महाधिवेशन गर्न चाहनु भएको छैन भनेर तपाइहरुले नै भन्दै आउनु भएको हो । अब उहाँ भित्रबाटै महाधिवेशन गर्न तयार हुनुभएको हो ?
सभापतिले विज्ञप्ति निकालेर समयमै महाधिवेशन हुन्छ भन्नुभयो । पदाधिकारी बैठकले पनि त्यो निर्णय गर्यो । त्यसलाई पारित गर्न केन्द्रीय समिति बैठक आह्वान भएको छ । त्यसलाई त हामीले विश्वास गर्नुपर्यो नि । त्यसको लागि हामीले पनि पहल गर्नुपर्यो ।
महाअधिवेशन गर्न देखिएका समस्या समाधानका लागि के गर्नुपर्ला ?
सदस्यता वितरण पहिले पहिलेको महाधिवेशनमा पनि हुन्थ्यो । यस पटक अलिकति बेसी छ । यो कुरा म मान्छु । तर, जुन जुन जिल्ला, क्षेत्र र वडामा विवाद छ त्यो विवादलाई थाँती राख्ने, अनि तिनीहरुलाई १५ औं महाअधिवेशनमा राखिदिने र जुन जुन वार्डहरुमा र जुन क्षेत्रमा विवाद छैन्, त्यहाँमात्रै क्रियाशील मान्यता दिने । अनि जिल्ला जिल्लामा भोटिङ गर्ने । यो मेरै क्षेत्रमा पनि भएको कुरा हो । यसले समस्याको समाधान हुन सक्छ ।
महाधिवेशनको सन्दर्भमा सभापति परिवर्तन भएर सकारात्मक हुनुभएको हो भन्ने तपाईको बुझाइ हो ?
सभापतिको सकारात्मकतामा आशंका गर्ने होइन । उहाँले जनाएका प्रतिबद्धता अनुरुपका काम हुन्छन् कि हुँदैनन् हामीले त्यो हेर्ने हो । भदौमा महाअधिवेशन हुन्छ भने त्यो राम्रो हो । तर, त्यतिले त अधिवेशन हुँदैन नि । छानबिन समितिले कति काम गरेको छ ।
छानबिन समितिका पदाधिकारी बस्नुपर्यौ । केन्द्रीय कमिटी हुन सक्दैन् । केन्द्रिीय कमिटी नभएपछि पधादिकारीले भनेको हामीले त मानेकै छौँ । नेपाली काँग्रेसको १४औँ महाअधिवेशनको बारेमा पदाधिकारीहरुको छलफल भएकै छैन । सबैभन्दा महत्वपूर्ण कुरा आजै गर्नुपर्यो ।
अहिलेसम्म विधानमा भएको व्यवस्था अनुरुप नियमित रुपमा कांग्रेस महाधिवेशन भएको देखिदैन । सधै समय थप्नु परेको हामी देख्छौं, यसको कारण के हो ?
ठूलो र पुरानो पार्टी हो । सदस्य धेरै छन् । लामो समय पार्टीमा काम गरेका साथीहरु हुनुहुन्छ । यसले समस्या देखिन्छ । त्यसलाई कसरी मिलाउने भन्नेमा केही समय लाग्ने गर्छ । तर, हामीले अहिलेसम्म ऐन, नियम र कानुनअनुरुप नै महाधिवेशन गरेर यहाँसम्म आएका छौं । यो पटक पनि संविधानमा भएको व्यवस्था अनुरुप महाधिवेशन गरेर हामीले पार्टी बचाउँछौं ।
यहाँहरुले संवैधानिक संकटमा पार्टीलाई पुर्याउनुहुन्न ?
पार्टीको वैधानिकता र नेपाली काँग्रेस नै समाप्त हुने अवस्था आउन हामीले दिन्नौं । कुनै कारणवस अधिवेशन भएन भने नेपाली काँग्रेसको वैधानिकता समाप्त हुन्छ भन्ने हामी सबैले बुझेका छौँ । सभापतिजीले झन धेरै बुझ्नुभएको होला किनभने तपाँईले देख्नुभयो त नेकपाको पार्टी कसरी छुट्याइयो ।
एमाले र माओवादी कोर्टमा त कोही न कोही त जान्छ । निर्वाचन आयोगमा कोही न कोही त जान्छ । भएका घट्नाहरुलाई पनि त हेरौँ न हामीले अनि निर्णय लिउँ त्यसकारण यो हुनैपर्छ । यसमा कुनै इफ एण्ड बट्सको कुरै नगरौँ । हो, हाम्रो छानबिन समितिमा हाम्रो संयोजकजीलाई कोरोना भएको छ ।
उहाँको शिघ्र स्वास्थ्यलाभको कामना पनि भन्न चाहन्छु । तर, कसरी गर्ने हो त्यो त गर्नुपर्यो नि त कमिटीले त होमवर्क गर्दै जानुपर्यो नि त । संयोजक विरामी हुनुभयो भनेर काम रोक्न थालेर त हुँदैन । अनि सभापतिजीका खाली चिठ्ठीको भरमा मात्रै हुँदैन ।
कांग्रेस सरकारमा जाने प्रयासमा लागेको छ । पार्टीमा २४सै घण्टा सरकारमा कसरी जाने भन्ने बहस भैरहेको छ ? पार्टी महाअधिवेशनबारे छलफल भएको त्यति सुनिन्न त ?
होइन, होइन । हामी छलफल गर्दैछौं । जुमबाटै छलफल गर्दैछौँ । हामी त धेरै अगाडि बढिसकेका छौँ । यसमा तपाईँहरु ढुक्क हुनुहोस् । महाअधिवेशनको बारेमा हाम्रा साथीहरु र हामीहरु एकदमै अगाडि बढेका छौँ । तर, पदाधिकारी र सभापतिजीहरु नबसिकन उहाँहरुले मोडालिटी र डेट उ नगरिकन् छानबिन समितिले काम नगरिकन त के गर्नुहुन्छ त ? हामीहरु मात्रै अगाडि बढेर त हुँदैन नि, हामी धेरै अगाडि बढिसकेका छौं । त्यो पनि बताइदिन्छु तपाँईलाई ।
तर, बाहिरबाट हेर्दा त कांग्रेसलाई महाधिवेशन भन्दा सत्ताको चिन्ता भएको जस्तो देखिन्छ ?
संसदीय व्यवस्थामा सरकारमा जाने वा सरकारमा नजाने, वा विपक्षमा बस्ने कि वा सरकारको पार्ट हुने, वा मुख्यमन्त्री हुने, वा प्रधानमन्त्री हुने यो सबै चलिरहन्छ । तर, मुल कुरा के हो भने त्यो चल्लनको लागि पार्टीको महाअधिवेशन महत्वपूर्ण छ । पार्टीनै भएकोले त्यो सरकारको कुरा आएको हो ।
पार्टीको वैधानिकता समाप्त हुन थाल्यो, पार्टीको वैधानिकता समाप्त भयो भने हामी कहीँको रहँदैनौँ । शेखर कोइराला रहन्छ, तर शेखर कोइराला नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहँदैन् । त्यो बुझ्नुपर्यो । खाली त्यो कागजमा वैधानिकता बनाएर हुँदैन् । लोकतान्त्रिक पार्टी भन्ने कागजी घोडामात्रै गरेर लोकतन्त्र बचाउँछु भनेर हुँदैन नि । अधिवेशन त हुनुपर्यो नि । संगसंगै सरकारमा जाने कुरा छ, जो सार्थीहरु जानुहुन्छ । जानुहुन्छ नि । राजतिलक साप्ताहिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया