जेठ ७, २०८१ सोमबार May 20, 2024

स्थानीय तहमा बजेट दुरुपयोगको नमूना, शहीदका नाममा ३५ लाखको पर्खाल !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनआन्दोलनका बेला गोंगबुमा शहीद भएका १९ जनाको नाममा टोखा नगरपालिका वडा नं. ११ ले शहीद स्मृति बाल उद्यान पार्क निर्माण थालेको छ । उपभोक्ता समितिमार्फत् निर्माण गरिएको उक्त पार्क २ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नगरसभाको नवौं बैठकले पारित गरेको बजेटअनुसार उक्त पार्कका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पार्क निर्माण सम्पन्न गर्नका लागि थप ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।

पार्क निर्माणस्थल ११ नम्बर वडा कार्यालयलाई जानकारी नदिइ निर्माण थालिएको वडाध्यक्ष उत्तम अधिकारीले बताए । उनले भने, ‘पार्क निर्माणबारे वडालाई जानकारी छैन । जानकारी नभएपछि समन्वय र स्वीकृति लिने कुरो पनि आएन ।’

स्थानीय तहमा बजेट दुरुपयोगको नमूना

भिरालो र पहिरो जाने स्थान भएकाले उक्त क्षेत्र पार्कका लागि उपयुक्त नभएको स्थानीय बताउँछन् । पार्क स्थलमाथि ढिस्को र तलतिर नागरिकको प्रति जमिन छ । ढिस्कोबाट माटो तलतिर बग्न रोक्नका लागि ३५ लाख रुपैयाँ खर्च गरेर पर्खाल लगाउन लागेको उपभोक्ता समितिको भनाइ छ ।

उपभोक्ता समितिका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार गत जेठ १९ गते पार्क निर्माणका लागि सम्झौता भएको हो । सम्झौता भएको एक महिनाभित्र काम सम्पन्न गर्नुपर्ने सर्त राखिएको छ ।

नगरपालिकाका प्रवक्ता बच्चु बस्याल पार्क निर्माणका लागि १८–२० लाख रुपैयाँ नगरले खर्च गर्न लागेको बताउँछन् । पार्क निर्माणको उपयुक्त स्थल हो त भन्ने जिज्ञासामा बस्यालले भने, ‘यो सरकारी जग्गा हो, सीमाना मिचेर सिध्याउन लागे, त्यसैले यसलाई बाल उद्यान निर्माण गर्न लागेका हौं ।’

वडासँग किन समन्वय नगरेको भन्ने जिज्ञासामा उनले भने, ‘११ नम्बर वडा कांग्रेसले जितेको छ, हामीले अघि सारेका योजना उसले स्वीकृति गर्दैन, त्यसैले नगरले सिधैं उपभोक्तामार्फत् निर्माण गर्न लागेको हो ।’

ठेक्का प्रकृया र निर्माण गर्दा अपनाउनुपर्ने प्रकृयाका बारेमा प्रवक्ता बस्याल केही बोल्न चाहदैनन् । उपभोक्ता समितिले निर्माण गर्न लागेको हो, त्यसका लागि डिपिआर तयार गर्नु नपर्ने र ठेक्का सम्झौता समितिले गरेको भनाइ बस्यालको छ ।

उपमेयर ज्ञानीमाया डंगोलका अनुसार कुनै पनि निर्माणका लागि सार्वजनिक सूचना टाँस गर्ने पैसासमेत नगरले उपलब्ध गराएको हुन्छ । उक्त निर्माणाधीन उद्यानमा सार्वजनिक सूचना टाँस गरिएको छैन भने त्यो गलत भएको उपमेयर डंगोलले बताइन् ।

स्थानीयवासीका अनुसार भीरमा एउटा पर्खाल उभ्याएर उपभोक्ताको नाममा नगरपालिकाको बजेट दोहोन गर्ने योजनाअनुसार काम भइरहेको छ । बाल उद्यान बन्ने स्थल नै यो हुन सक्दैन । एक महिनामा निर्माण कार्य सम्पन्न हुन पनि सक्दैन । यो सबै सेटिङमा नगरपालिकाको बजेट दुरुपयोग गर्ने योजनाअनुसार काम भइरहेको छ, एक स्थानीयले भने । राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया