काठमाण्डौं: वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेको स्पष्ट गर्नुभएको छ ।
आज बुधवार नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलको बैठकमा उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिस्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताउनुभयो । ‘म पार्टी विभाजनको पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन’, मुख्यमन्त्री शाक्यले भन्नुभयो ।
आउँदा दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उहाँले पार्टी विभाजनले प्रदेश र देशकै लागि दुःखद् भएको बताउनुभयो । ‘मुख्यमन्त्रीले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेश सभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउँछु’, शाक्यले भन्नुभयो ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीलाई एकताबद्ध गरेर जाने नीतिअनुसार आफूले मुख्यमन्त्रीबाट बिदा लिएको र पार्टी एकताकै लागि नेत्री शाक्यले मुख्यमन्त्रीको पद सम्हालेको बताउनुभयो ।
उहाँले एमाले एकजुट भएर शाक्य नेतृत्वको सरकारलाई निरन्तरता दिन अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा प्रदेश सभा सदस्यले सरकारले र पार्टीले आउँदो दिनमा अवलम्बन गर्ने नीतिका बारेमा जिज्ञासा राखेका थिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया