असार २६, २०८२ बिहिबार July 10, 2025

मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्वत  जिल्लामा मुस्लिम बालबालिकाले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ। यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै मदरसा सञ्चालन गरिएको हो।

ती समुदायका बालबालिकालाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो। मदरसा नभएकै कारण कुश्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकालाई मस्जिदमा राखेर पठनपाठन गर्दै आएको छ। बालबालिकालाई पढाउनुपर्ने बाध्यता भएकाले मस्जिदमा राखेर भए पनि अध्यापन गराइएको हो।

‘मस्जिदमा प्रार्थना गर्न आउने हो। यहाँभित्र छिर्न निश्चित पोसाक ताकिएको हुन्छ। तर, यहाँ मदरसा नहुँदा मस्जिदमै कक्षा चलाउनुपरेको छ। हामीलाई सहयोग गर्न आउने तथा अनुगमन गर्न आउने मान्छे हाम्रो पोसाकमा आउने कुरा पनि हुँदैन,’ मौलाना (शिक्षक) मोहम्मद अकबर अलीले भने, ‘हामी थोरै संख्यामा भएका कारण पनि होला कसैले वास्ता नगरेको, सरकारले हामीलाई हेरिदिए हुने हो।’

२०६८ मा कक्षा १ देखि पठनपाठन सुरु गर्न अनुमति पाए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन। मस्जिदमा ५८ विद्यार्थी नियमित अध्ययनका लागि आउने गरेका छन्। बिहान–बेलुका दुई समयमा उर्दू भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्नेचाहिँ हुँदैन।

मुस्लिम सेवा समितिका सचिव अस्गर अली मियाँले आफूहरू कुश्मामा अल्पसंख्यक भएका कारण नै कसैको ध्यान मुस्लिमको समस्यामा नगएको बताउँछन्। मुस्लिम समुदायको मदरसा मात्र नभई अन्य थुप्रै समस्या रहेको उनले बताए। ‘नगरपालिकाले वर्षको एकपटक एक लाख रुपैयाँ दिने गरेको छ।

त्यसले त शिक्षकलाई ६ महिनाको तलब पनि पुग्दैन, हामीले चन्दा उठाएर मौलानालाई दिने गरेका छौँ,’ उनले भने, ‘हामीलाई मस्जिदबाहिर छुट्टै ठाउँमा मदरसा र त्यहाँ स्थायी रूपले पढाउने एक जना शिक्षक चाहिएको छ।’

कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले नगरपालिकाले मदरसामा सहयोग गर्ने चाहना राखे पनि मदरसा सञ्चालनका लागि सरकारले तोकेका मापदण्ड पूरा नभएका कारण सबै काम गर्न नसकिएको जानकारी दिए। विद्यालय सञ्चालनका लागि नगरपालिकाका तर्फबाट वार्षिक एक लाख नियमित अनुदान दिँदै आएको र गत आर्थिक वर्ष थप दुई लाख ४१ हजार दिइएको उनको भनाइ छ।

‘०६८मा अनुमति पाएको विद्यालय अहिले पनि उस्तै किन ? किनकि राज्यले तोकेका मापदण्ड र नीति पूरा गरेपछि मात्र अन्य विद्यालयले पाउने जस्तै गरी अनुदान पाउन सकिन्छ’, उनी भन्छन्, ‘विद्यालयको नाम के हो भन्ने थाहा छैन, विद्यालयको नाम भएको होर्डिङ बोर्ड छैन, लेटर प्याड र छाप पनि छैन। बिहान–बेलुका आफ्नो तरिकाले यहाँ पढाइ भएको छ। तर, १० देखि ४ बजेसम्म पढाइ हुनुपर्छ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिङ गुरुङ मदरसालाई अहिलेकै अवस्थामा राख्ने वा विद्यालय जसरी अगाडि बढाउने भन्ने कुरा मुस्लिम समुदायको निर्णयमा भर पर्ने बताउँछन्।

अगाडि बढ्ने हो भने राज्यले मदरसाका लागि तयार पारेको पाठ्यक्रमअनुसार कक्षा सञ्चालन गर्दै अरू मापदण्ड पनि पूरा हुने र मस्जिदबाट मदरसा हटाउने हो भने कुश्मावासी सबैको सहयोग आवश्यक हुने बताए।

कुश्माको मदरसामा अध्ययन गर्दै आएका विद्यार्थी बिहान–बेलुकाको समयमा उर्दू भाषा सिक्ने र दिउँसोको समयमा कोही सामुदायिक त कोही निजी विद्यालयमा अध्ययन गर्दै आएका छन्। पर्वतमा दुई ठाउँमा मात्र मदरसा छन्।

कुश्माबाहेक जलजला गाउँपालिकाका वारि बेनीमा छ। वारि बेनीको मदरसा व्यवस्थापनका लागि म्याग्दी सदरमुकाम बेनी बजारमा बस्दै आएका मुस्लिम समुदायसमेत लागिपरेका कारण त्यहाँ भने समस्या देखिएको छैन। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार