काठमाडौं: सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ ।
प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए। बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको उनले बताए ।
सरकारले दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरिरहेको र कात्तिक २४ सम्म भने बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने उनको भनाइ छ। अघिल्ला वर्षका मुख्यचाड पर्वमा उपभोक्तालाई सहुलियतमा घिउ लगायतका दूग्ध पदार्थ बिक्री गरिरहेको डीडीसीले यसपटक भने दशैंको मुखैमा घिउको मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने आपत्ति जनाएका छन् ।
चाडपर्वमा उपभोक्तालाई सहुलियतदिनु पर्नेमा उल्टै मूल्य वृद्धि गरिनु बदमासी भएको भन्दै अधिकारकर्मीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन्। सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा सहुलियतमा वस्तु बिक्री गर्नु पर्ने बेलामा झनै मूल्य बढाएर डीडीसीले बदमासी गरेको उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्जहनले बताए ।
‘महामारीले पीडामा परेका उपभोक्तामाथि राज्यका निकायहरुबाटै शोषण गरिनु बेइमानी हो,’ मर्हजनले भने। अर्का उपभोक्ता अधिकारकर्मी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सीनाले घिउमा गरिएको मुल्य वृद्धि फिर्ता लिन डीडीसीसँग आग्रह गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया