काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वलाई मितव्ययी बनाउन आग्रह गर्नुभएको छ ।
तिहार तथा भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको बताउनुभएको छ।
तिहारको अभिन्न अंगको रुपमा रहेको देउसीरभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको अध्यक्ष ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले सरकारको नेतृत्वमा रहँदा एमालेले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो। उहाँले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्न नयाँ संविधान अनुरुपमा संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई निर्माणको चरणमा प्रवेश गराएको उल्लेख गर्नुभएको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत उहाँले सवैमा आवहान गर्नुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया