काठामाण्डौः बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका गतिविधि आमनागरिकको पहुँचमा रहेको बताउनुभएको छ । प्रदेशसभा सचिवालयमा आज भएको ‘संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास’ सम्बन्धी अन्तक्र्रियामा सभामुख श्रेष्ठले प्रदेशसभाले पक्षपातरहित काम गरेको दाबी गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा जनपत्र मिडियाले अयोजना गरेको कार्यक्रममा श्रेष्ठले प्रदेशसभाले नागरिकको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले संसद् सञ्चालनका क्रममा विगतमा केही कमजोरी भएको भए पनि कमजोरी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभाका निमित्त सचिव विनोद अमात्यले प्रदेशसभाले हालसम्म गरेका कानूनका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले प्रदेशसभाबाट हालसम्म ६२ वटा ऐन पारित तथा संशोधित भएको जानकारी दिनुभयो । “प्रदेशमा ८२ वटा कानून निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाँकी ऐन ४५ वटा रहेका छन्”, उहाँले भन्नुभयो ।
कार्यक्रममा भर्चुअल विधिमार्फत सार्वजनिक लेखा समितिका सभापति न्युछेनारायण श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति माधव पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकारले प्रदेशसभामा खुलापनलाई ध्यान नदिएको गुनासो व्यक्त गरेका थिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया