काठमाडौंः काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने बताएका छन् ।
कात्तिक अन्तिम सातादेखि प्रदूषणको मात्रा बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन उनीहरूले सुझाव दिएका हुन् । बढ्दो प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । वायुप्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेज अनिश्चित कालका लागि बन्द गरिएको छ ।
वायुप्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेज बन्द गरेका हुन् । नेपालमा पनि राजधानी काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा प्रदूषणको मात्रा उच्च हुँदै गएको हो । नयाँ दिल्ली र पाकिस्तानमा प्रदूषण बढी भएपछि त्यसको असर नेपालमा पनि देखापरेको वातावरण क्षेत्रका विज्ञहरूले बताएका छन् । बिहीबार धनगढीमा उच्च प्रदूषण भएको पाइएको छ ।
गत वर्ष प्रदूषण बढेपछि सरकारले विद्यालय नै बन्द गर्ने निर्णय गरेको थियो । यो वर्ष पनि प्रदूषणका कारण शैक्षिक संस्था तथा यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने मौसमविद्हरूले बताएका छन् । मौसममा देखिएको परिवर्तनसँगै वायुप्रदूषण पनि ह्वात्तै बढेको हो । वायुको गुणस्तरको सूचकांक (एक्यूआई) अनुसार बिहीबार राति १० बजे नेपालका सहरमध्ये बढी प्रदूषित सहरका रूपमा धनगढी देखिएको थियो ।
बिहीबार राति धनगढीमा एक्यूआई १९३ थियो भने विराटनगरमा एक्यूआई १९१ मापन गरिएको थियो । यसैगरी, काठमाडौंमा एक्यूआई १७३ मापन गरिएको वातावरण विभागको वायुप्रदूषण मापन शाखाले जनाएको छ । रत्नपार्कमा एक्यूआई १८८ र ललितपुरको भैंसेपाटीमा १६७ भन्दा बढी मापन गरिएको थियो । सो अंकले वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक तहमा रहेको देखाउने वातावरणविद् भूषण तुलाधर बताए ।
वायु गुणस्तरको व्यवस्थापनका लागि सरकारले दुई वर्षअघि काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएर ३०० भन्दा बढी भए विपद्को रूपमा लिने जनाएको थियो । काठमाडौं उपत्यकाको भौगोलिक बनोटका कारण पनि वायु प्रदूषणका लागि जोखिम बढिरहेको र संवेदनशील अवस्थामा रहेको वातावरणविद् तुलाधर बताउँछन् ।
उनले भने, ‘बिहीबार र शुक्रबार बादल धेरै लागेको थियो र यसले गर्दा कचौरा आकारको काठमाडौं उपत्यकाको प्रदूषण जहाँको तहीँ रह्यो, दोस्रो भनेको काठमाडौं उपत्यकाको वरिपरिका वनहरूमा डढेलोको कुराहरू पनि आइरहेका छन् र तेस्रो कारण भनेको जाडोका कारण मानिसहरूले आगो ताप्ने, फोहोर बाल्ने गरेका छन् त्यसले पनि हिजो र आज नै वायु प्रदूषणको अवस्था खराब देखाएको हो ।’ उपत्यकाको बनोटकै कारण वायु प्रदूषणको प्रतिकूल अवस्था दोहोरिरहने भन्दै यसको न्यूनीकरणका लागि सरकारी संयन्त्रले काम गर्नुपर्ने तुलाधर बताउँछन् ।राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया