बैसाख २२, २०८३ मंगलबार May 5, 2026

सर्वसहमति हुन्छ कि साँच्चिकै प्रतिस्पर्धा नै हुन्छ भन्ने अध्यक्षले प्रस्ताव ल्याएपछि हलले कस्तो खाले प्रतिक्रिया दिन्छ त्यसमा भर पर्छ।- सुवाष नेम्वाङ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अध्यक्ष ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव ल्याउन भनिएको छ, अब कसरी प्रक्रिया बढ्छ ?

हाम्रो विधानको र स्थापित अभ्यासबमोजिम हामीले जे गर्ने गरेका छौं त्यही अभ्यास र विधानबमोजिम नै सम्पूर्ण प्रक्रिया अगाडि बढ्छ। जस्तो हिजो हलले अध्यक्षलाई सहमति गर्न, सर्वसहमतिका लागि प्रस्ताव ल्याउन आग्रह गरेको छ, त्यो आफ्नो ठाउँमा महाधिवेशनको निर्देशन छँदैछ।

अध्यक्षले प्रस्ताव ल्याउनुभयो र त्यो प्रस्तावमा हलको सहमति भयो भने त्यो प्रस्तावलाई आधार बनाएर हामी एउटा निष्कर्षमा पुग्छौं। उदाहरणका लागि, कसैले त्यसमा आफ्नो फरक दृष्टिकोण राखे भने त्योसमेतलाई ध्यानमा राखेर हामी अगाडि बढ्छौं अर्थात् विधान र स्थापित अभ्यासबमोजिम अभ्यास भने त्यतिबेला पनि अपनाउनुपर्ने हुन्छ।

भनेको अध्यक्षले एउटा खाका ल्याउनुहुन्छ, त्यसमा असहमत हुनेले निर्वाचन लड्न पाउँछ?

त्यसमा त निर्वाचन हुन्छ। विधि प्रक्रियाबमोजिम नै निष्कर्षमा हामी पुग्छौं।

असहमत हुनेलाई निर्वाचन गर्ने भए पहिले नै निर्वाचन प्रक्रियामा गएको भए हुन्थ्यो त! 

अहिले पनि केही फरक परेको छैन, त्यसलाई फिटिक्कै अन्यथा गरिएको छैन। वास्तवमा निर्वाचन समितिले आफ्नो काम गरिरहेको छ। निर्वाचन समितिका भोटिङ मेसिन तयार छ। तर हलले, महाधिवेशनमा आउनुभएका प्रतिनिधिले सर्वसहमतिले टुंगोमा पुर्‍याइयोस् भन्ने भावना व्यक्त गर्न चाहनुभयो, कुरा त्यति मात्रै हो।

निर्वाचनभन्दा प्राथमिकता अध्यक्षको प्रस्ताव नै रह्यो?

निर्वाचनको प्रक्रियामा गइरहँदा पनि अध्यक्षको जुन प्रस्ताव छ, हलले जुन पारित गरेको छ, त्यसलाई ध्यानमा राख्नको लागि महाधिवेशनको निर्देश छ, यथार्थ त्यत्ति हो। यो सबै विधि प्रक्रियाअनुसार नै अघि बढ्छ।

अध्यक्षमा फेरि ओली नै आकांक्षी हुनुहुन्छ। आफूले आफैँलाई अध्यक्ष तोकेर ल्याउन कस्तो हुन्छ?

त्यो एउटा प्रक्रिया हो। को अध्यक्ष बन्नेसमेतका सन्दर्भका कुरा पनि आउला। हामी विधिअनुसार नै प्रक्रियामा पुग्छौं।

वरिष्ठ उपाध्यक्षमा तपाईंको दाबी थियो के छ अहिले?

मैले पहिले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरेको छैन। मलाई सम्झना छ- पटकपटक भन्ने गरेको थिएँ, पार्टीमा जुन स्थिति छ, सर्वसहमति सबैभन्दा राम्रो हो। अहिलेको चुनौती सामना गर्न पार्टी एकजुट हुनुपर्छ त्यसका लागि सर्वसहमति सबैभन्दा राम्रो हो। लोकतन्त्रमा सर्वसहमति पनि मान्यताप्राप्त प्रक्रिया हो।

तर सर्वसहमतिको प्रयास गर्दा निष्कर्षमा पुगिएन भने त्यतिबेला हामीले विधि प्रक्रियाबमोजिम र निर्वाचनको प्रक्रियाअनुसार जानुपर्ने हुन्छ। कथमकदाचित निर्वाचनको प्रक्रियामा जानुपर्‍यो भने त्यतिबेला मैले पनि उम्मेदवारी दिनुपर्ने हुन्छ। त्यसका लागि साथीभाइसँग सल्लाह सुझाव लिइरहेको छु। त्यो सुझावअनुसार नै अगाडि बढ्छु। यो अडानमा मैले यताउता गरेको छैन।

चुनाव भएछ भने मलाई साथीभाइहरूले तपाईं वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनु है भनेका छन्। अब हेर्नु छ- सर्वसहमति हुन्छ कि निर्वाचन। सर्वसहमति भए म मान्छु तर निर्वाचन भए म साथीभाइका सल्लाहअनुसार मैले अगाडि बढ्नुपर्छ।

अध्यक्षले वरिष्ठ उपाध्यक्षमा यहाँलाई प्रस्ताव नगरे चुनाव लड्नुहुन्छ?

मेरो व्याख्या त्यस्तो हुने गर्दैन, आफूलाई पर्‍यो भने त्यो कुरा ठिक आफूलाई परेन भने त्यो कुरा बेठिक भन्नेचाहिँ त्यो कहिल्यै पनि मेरो सोचाइमा पर्दैन। मैले सर्वसहमति भनेको पार्टीका लागि हो, म व्यक्ति कहाँ पर्छु भन्ने होइन।

अध्यक्षले प्रस्ताव ल्याउन यहाँहरूसँग छलफल गर्नुभएको छ त?

उहाँलाई जिम्मा दिइएको छ, अध्यक्ष यसमा लागिरहनुभएको छ। सिंगो पार्टीले उहाँलाई सहयोग गर्छ।

अन्तिममा, अध्यक्षले प्रस्ताव गरेको खाकामा विरोध भए के हुन्छ?

निर्वाचन हुन्छ। सर्वसहमति हुन्छ कि साँच्चिकै प्रतिस्पर्धा नै हुन्छ भन्ने अध्यक्षले प्रस्ताव ल्याएपछि हलले कस्तो खाले प्रतिक्रिया दिन्छ त्यसमा भर पर्छ। एकछिनलाई मानौं, हलले सहमति छ भन्यो भने कसैले पनि यताउता गर्दैन।

हलले सहमति गर्ने तर कुनै व्यक्तिले म चुनाव उठ्छु भन्यो भने के हुन्छ?

उहाँले उठ्न पाउनुहुन्छ, हामी कसैलाई रोक्दैनौं। – सेतोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार