श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्।

यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्। अहिलेसम्मको अवस्था हेर्दा यस पदमा ४५–६० वर्ष उमेर समूहका नेताहरूले दाबी पेस गरेको देखिएको छ।

आकांक्षीको व्यवस्थापन गर्न सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सहमहामन्त्रीको संख्या अझै थप्ने पक्षमा देखिएको छ। तर नेता रामचन्द्र पौडेल यसको विपक्षमा देखिँदा प्रस्ताव अघि बढ्न सकेको छैन।

देउवा नेता पौडेलसहित संस्थापन इतर पक्षलाई विश्वासमा लिएर खुलातर्फ केही सहमहामन्त्री पद थप गर्ने रणनीतिमा छन्। तर महाधिवेशनको मिति नजिकिएकाले यो चाहना पूरा हुने सम्भावना कमजोर बन्दै गएको छ। सभापतिमा साझा उम्मेदवार बनाउन दबाब खेप्दै आएको संस्थापन इतर समूह पनि सहमहामन्त्रीको पद थप हुँदा नेताको व्यवस्थापनमा सहज हुने बुझाइमा छ। नेता पौडेल भने जिम्मेवारीविहीन पदमात्र थप गर्ने कुराले संगठन सञ्चालनमा समस्या आउने भन्दै विपक्षमा देखिएका छन्।

सहमहामन्त्रीको पद थप गर्न सके संस्थापन पक्षबाट महामन्त्रीका आकांक्षी ज्ञानेन्द्रबहादुर कार्की,एनपी साउद,रमेश लेखक, विश्वप्रकाश शर्मासहितका नेतालाई उक्त पदमा व्यवस्थापन गरेर टिम बनाउने देउवाको रणनीति रहेको स्रोतको दाबी छ।

सहमहामन्त्रीका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, गोविन्द भट्टराई, किशोरसिंह राठोरसहितका नेता पनि आकांक्षी छन्। खस आर्य कोटामा महामन्त्री र सहमहामन्त्रीका आकांक्षीमध्ये एकलाई संस्थापन पक्षले अघि सार्ने निकटहरूको दाबी छ।

संस्थापन इतर समूहमा दीपक गिरी, दिलेन्द्रप्रसाद बडु खसआर्य समूहबाट सहमहामन्त्रीको आकांक्षी छन्। संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने पहल सफल भए उपसभापति र महामन्त्रीका आकांक्षीहरूको व्यवस्थापनमा उक्त पद प्रयोग हुनसक्ने छ।

त्यस्तै दलित कोटाको सहमहामन्त्रीमा संस्थापनतर्फबाट मानबहादुर विक र मीन विक आकांक्षी छन् भने इतर समूहबाट जीवन परियार छन्।

महिला सहमहामन्त्रीमा संस्थापन पक्षबाट महालक्ष्मी उपाध्याय र पुष्पा भुसालले आफूलाई प्रस्तुत गर्दै आएका छन्। संस्थापन इतर समूहबाट कमला पन्त र सरिता प्रसाईं आकांक्षी छन्।

पिछडिएको क्षेत्रबाट संस्थापन इतर समूहका केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। संस्थापन पक्षले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई अघि सार्ने तयारी गरेको छ।

मधेसी कोटाको सहमहामन्त्रीमा संस्थापनबाट चित्रलेखा यादव र महेन्द्र यादव आकांक्षी छन्। चित्रलेखा पार्टीको पूर्वकोषाध्यक्षसमेत हुन्। संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य रामकृष्ण यादवलाई अघि सार्ने तयारी छ। मुस्लिम कोटामा संस्थापन पक्षबाट फर्मुल्लाह मन्सुर उम्मेदवार बन्ने तयारीमा छन्। संस्थापन इतर समूहले कसलाई अघि सार्ने निश्चित छैन।

जनजातितर्फको सहमहामन्त्रीमा संस्थापनबाट भिष्मराज आङ्दम्बे र संस्थापन इतरबाट धनराज गुरुङलाई अघि सार्ने नेताहरूको तयारी छ। गुरुङ आफूले भने महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

त्यस्तै थारुबाट रामजनम चौधरी,योगेन्द्र चौधरी, उमाकान्त चौधरीलाई अघि सार्ने तयारी छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संस्थापन इतरको समूहमा समावेश भए उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने नेताहरूको तयारी छ। सिटौला अलग्गै वा संस्थापन पक्षसँग मिलेर अघि बढेको अवस्थामा संस्थापन इतर पक्षलाई सहमहामन्त्रीमा नयाँ उम्मेदवार तयार गर्नुपर्ने बाध्यता छ।

अझ संस्थापन र इतर समूहबाट सभापतिका आकांक्षी देखिएका सबै नेताले उपसभापति, महामन्त्रीसहितको टिम बनाएर अघि बढ्दा सहमहामन्त्रीका कतिपय आकांक्षीले उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिने सम्भावना पनि रहेको निकट नेताहरूले जानकारी दिए।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार