असार २५, २०८२ बुधबार July 9, 2025

साझा उम्मेदवारको अन्तिम रस्साकस्सीमा पौडेल समूह, यस्तो हुन्छ केन्द्रीय कार्यसमिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आसन्न १४औं महाधिवेशनमा नेतृत्वका लागि सभापति शेरबहादुर देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार खडा गर्ने संस्थापनइतर समूहको प्रयास सफल हुन सकेको छैन । नेतृत्वका आकांक्षी नेताबीच साझा उम्मेदवारका रूपमा आ–आफ्नो पक्षमा सहमति जुटाउने अन्तिम रस्साकस्सी भने भइरहेको छ ।

संस्थापन पक्षबाट देउवा पुनः नेतृत्व दाबी गर्नुभएको छ भने संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वको दाबी गर्नुभएको छ । यसअघि देउवा समूहमा रहेका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरी छुट्टै तयारी गरिरहनुभएको छ । साझा उम्मेदवार खोजीको छलफलबाट निधि बाहिरिसक्नुभएको छ ।

संस्थापनइतर समूहबाट शीर्ष नेताका रूपमा रहेका पौडेल, सिंह र कोइरालाद्वय चार नेता भने अझै साझा उम्मेदवार चयनको कोशिसमा छन् । नेतृत्वको दाबी गर्दै आएका यी चार नेतालाई सहमति गरी एकमात्र उम्मेदवार बन्न अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरुको पनि चर्को दबाब छ । एकमात्र साझा उम्मेदवार तय गर्ने अन्तिम प्रयासस्वरूप मंगलबार पनि पौडेल, कोइरालाद्वय र सिंहबीच छलफल भएको छ । संस्थापनइतर समूहबाट नेतृत्वमा एकमात्र साझ उम्मेदवार नभए फेरि पनि नेतृत्व देउवालाई बुझाए हुने भन्दै पटक–पटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका महामन्त्री डा. शशांक कोइरालाले सहमति हुन्छ भने आफ्नो दाबी छोड्न तयार भएको बताउनुभएको छ ।

कांग्रेस महाधिवेशन २४ गतेदेखि शुरू हुँदै छ । आफ्नो समूहमा नेतृत्वका लागि साझा उम्मेदवार तय गर्ने अन्तिम प्रयास भइरहेकै बेला सभापतिका आकांक्षी चारमध्ये एक प्रकाशमान सिंहले मंगलबार नै सिंहदरबारको मूल गेटअगाडि रहेको स्काई बैंकेटमा सम्पर्क कार्यालय खोलेर आफू पछि नहट्ने संकेत दिनुभएको छ । सम्पर्क कार्यालय खोलेसँगै नेता सिंहले भन्नुभयो– ‘साझा उम्मेदवारका लागि छलफल भए पनि सम्भावना अत्यन्त न्यून छ । अधिवेशनमा साझा उम्मेदवार को हुने भन्नेबारेमा दिउँसो सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेन ।

बैठकमा सहभागी नेता धनराज गुरुङले जानकारी दिएअनुसार छलफल जारी रहेको र सहमति हुन सकेको छैन । स्रोतका अनुसार नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला नेतृत्व दाबी गर्ने आफ्नो अडानबाट टसमस भएका छैनन् भने वरिष्ठ नेता पौडेलले आम निर्वाचनसम्मका लागि मात्र भए पनि नेतृत्व लिन चाहिरहनुभएको छ ।

महामन्त्री डा. शशांक कोइराला डा. शेखरको पक्षमा सहमति गर्न तयार रहनुभएको छ ।अघिल्लो दिन सोमबार पनि पौडेल निवास बोहोराटारमा यो समूहको छलफल भएको थियो । तीन महिनाअघि तल्लो तहको अधिवेशन शुरू भए सँगै महाधिवेशनमा साझा उम्मेदवार बनाउने सहमति गरेका शीर्ष नेताहरुको अन्तिममा फाटो बढ्दै गएपछि पौडेल समूहभित्र पदाधिकारीसहित प्यानल निर्माणमा पनि असजिलो भएको छ । नेतृत्वमा देउवाविरुद्ध साझा उम्मेदवार तय गर्ने कुरामा पौडेल समूहभित्र सहमति हुन नसक्दा देउवा समूह भने महाधिवेशनमा निर्वाचन सजिलै जितिने भन्दै हौसिन थालेका छन् ।

यस्तो हुन्छ कांग्रेस केन्द्रीय कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमितिमा एक सभापतिसहित १४ पदाधिकारी रहन्छन् । जसमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्नेछ । कांग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । सहमहामन्त्री महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एक-एक जना हुने व्यवस्था छ ।

विधानअनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रीय सदस्यबाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्ने छ । केन्द्रीय सदस्य खुलामा ३५ जना, महिला खुलामा ९ जना निर्वाचित हुन्छन् । प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले कुल २१ जना निर्वाचित हुनुपर्ने विधानमा व्यवस्था छ । केन्द्रीय सदस्य समानुपातिक र समावेशीको सिद्धान्तअनुसार ५६ जना निर्वाचित हुन्छन् ।

जसअन्तर्गत दलित कोटामा चार महिलासहित ९ जना, आदिवासी-जनजाति कोटामा सात महिलासहित १५ जना, खस-आर्य कोटामा ६ महिलासहित १३ जना, मधेसी कोटामा चार महिलासहित ९ जना, थारू कोटामा दुई महिलासहित चार जना, मुस्लिम कोटामा एक महिलासहित तीन जना, पीछडिएको क्षेत्रअन्तर्गत एक जना र अल्पसंख्यक-अपांग कोटाबाट दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने विधानमा उल्लेख छ ।सभापतिले मनोनित गर्ने ३३ जनामा एकतिहाइ महिला कार्यसमितिमा पुग्ने गरी समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्नुपर्ने भनिएको छ । -नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार