असार २४, २०८२ मंगलबार July 8, 2025

माधव नेपाल पनि पार्टी एकता दौडमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् ।

आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् ।

आइतबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रका अधिकांश वक्ताहरूले दलहरूबीचको सहकार्य र एकताको आवश्यकता औँल्याउँदै वामपन्थी पार्टीका नेताहरूले पार्टी एकतामा जोड दिएका थिए । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेकपाको विघटनको दोष एकअर्कालाई लगाउने प्रयास गरेका नेताहरूले अन्ततः पार्टी विभाजनको आत्मसमीक्षा गर्दै पार्टी एकतामा जोड दिए ।

यसको तेस्रो दिन मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण हुँदै छ । राष्ट्रिय सभागृहमा मंगलबार मध्यान्ह साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ । सोही कार्यक्रममार्फत पार्टी एकता घोषणा गर्न लागिएको हो ।

साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वाेच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए । आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका  थिए । एकीकृत समाजवादीलाई ९ भदाैमा निर्वाचन आयाेगले दलकाे मान्यता दिएकाे थियाे ।

नयाँ दल दर्ता गरेकाे पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन् । केही दिनअघि उनले १३ पुसमा विभिन्न दलबीच एकता हुने घाेषणाा गरेका थिए । एमालेले चुनावलाई लक्षित गर्दै विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउने अभियानलाई तीव्रता दिएकाे छ ।-नयूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया