काठमाण्डौः एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ ।
काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् । शिक्षक संगठनको अध्यक्ष भए पनि अधिकारीले पार्टी संगठनको जिम्मेवारीसमेत लिएका छन् । उनी माओवादीको उपत्यका विशेष प्रदेश कमिटीका कोषाध्यक्ष हुन् । अधिकारी युद्धकालका विस्थापित शिक्षक हुन् । पार्टीले शिक्षक प्रतिनिधिको सूची गोप्य राख्ने प्रयास गरेका छन् ।
त्यसैगरी, बहालवाला शिक्षक झपेन्द्र क्षेत्री, ऋषि काफ्लेसहित दर्जनौँ शिक्षक प्रतिनिधि आएको शिक्षकहरूले बताएका छन् । त्यसैगरी, त्रिभुवन, पोखरा विश्वविद्यलयका स्थायी शिक्षकसमेत महाधिवेशनमा सहभागी भएका छन् । त्रिविका प्रा.डा. राजनप्रसाद पोखरेल, प्रा.डा. सूर्यबहादुर थापा, प्रा.डा. अर्जुन बास्तोला, डा. जगतकृष्ण श्रेष्ठ, डा. हरिराम पराजुली महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका छन् । त्यसैगरी, पोखरा विश्वविद्यालयका डा. खेमराज जोशी पनि महाधिवेशनमा सहभागी छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले सरकारी सेवासुविधा लिएका बहालवाला शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता वितरण गर्नसमेत बन्देज गरेको छ । यसविपरीत एमाले तथा कांग्रेसले अधिवेशनमा प्रतिनिधि छनोट गरेका थिए । अहिले माओवादी केन्द्रले पनि शिक्षक प्रतिनिधिका रूपमा भिœयाएको छ ।
सबैभन्दा धेरै शिक्षक कांग्रेसको केन्द्रीय र प्रदेश महाधिवेशनमा प्रतिनिधि थिए । कतिपय शिक्षक कांग्रेस क्षेत्रीय प्रतिनिधि छन् । शिक्षकहरू नगर सभापति, सचिव तथा सदस्य, क्षेत्रीय सदस्यसमेत भएका छन् । निर्वाचित कतिपय शिक्षकले राजीनामासमेत दिएका छन् ।
एमालेको चितवन महाधिवेशनमा प्रतिनिधिका एक दर्जनभन्दा बढी शिक्षक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए । एमाले दशौँ महाधिवेशनमा समेत शिक्षकहरू केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी थिए । भर्खरै सम्पन्न राप्रपा अधिवेशनमा भने शिक्षक प्रतिनिधि नल्याएको नेता मोहन श्रेष्ठले दाबी गरे ।यो समाचार आजको नयाँ पत्रिकामा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया