श्रावण ५, २०८२ सोमबार July 21, 2025

सीआईबीको अनुसन्धान पूराः१२६ रोपनी जग्गा हिनामिना तीन सयभन्दा बढीलाई कारबाहीको सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पु-याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सरकारी जग्गामध्ये १२६ रोपनी जग्गा हिनामिना भएको निष्कर्ष सीआईबीको छ ।

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारी जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही दिनमै प्रतिवेदन बुझाउने तयारीमा छौँ”, उहाँले भन्नुभयो । यस प्रकरणको अनुसन्धानको हदम्याद यही पुस २७ गते सकिँदै छ । उक्त समयभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने प्रावधानका कारण ब्युरोले यसै साता जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

सीआईबीले सरकारी जग्गा हिनामिनामा जोडिएका तीन सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको जनाएको छ । तिनमा तत्कालीन सरकारी कर्मचारी र अन्य छन् । राजनीतिक नेतृत्वबारे भने सीआईबीले अनुसन्धान अगाडि बढाएको छैन ।

सीआईबीले १२६ रोपनी जग्गा हिनामिना हुँदा १२ अर्ब नौ करोड ६० लाख रुपियाँ सरकारी नोक्सानी भएकाले उक्त रकमको बिगो दाबी गर्ने तयारी गरेको छ । सीआईबीका अनुसार तत्कालीन भूमिसुधार मन्त्रालयका सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारी एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तत्कालीन सचिवका हैसियतमा दीप बस्न्यात, सहसचिव गेहनाथ भण्डारीलगायतका कर्मचारीलाई कारबाहीको सिफारिस गर्ने तयारी छ ।

यसैगरी मालपोत कार्यालय, नापी कार्यालय, गुठी संस्थान, वडा कार्यालयलगायत निकायका कर्मचारी, भूमि व्यवस्था तथा अभिलेख विभागका पूर्वअधिकारी र भूमि सुधार मन्त्रालयका तत्कालीन कर्मचारीमाथि समेत कारबाहीको सिफारिस गर्ने तयारी ब्युरोले गरेको छ । सरकारी जग्गा हिनामिनामा बिचौलिया तथा जग्गा किनबेचबाट आर्थिक लाभ लिएकालाई समेत कारबाहीको सिफारिस गर्ने तयारी छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया