काठमाण्डौः अध्यक्षमा पुनः निर्वाचित भएपछि बैठकमा प्रचण्डले केन्द्रीय कमिटीलाई धन्यवाद दिँदै माओवादी आन्दोलन प्रचण्डको निजी नभएको र देश तथा पार्टीको आवश्यकताले पुनः अन्तिमपटक नेतृत्व गर्नुपर्ने बाध्यतामा आफूले जिम्मेवारी लिएको बताए ।
‘मैले पटक–पटक भन्ने गरेको छु– प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सकिँदैन । कसैले कमजोर बनायो भने पनि इतिहासले त्यसलाई खोतलिरहन्छ, अगाडि ल्याइरहन्छ । माओवादी आन्दोलन सदा जीवित रहनेछ र शक्तिका साथ अगाडि आउनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘कसैले के भ्रम नपाले हुन्छ भने माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत होइन ।’
उनले सम्पन्न भएको आठौँ महाधिवेशनमा विचारमा आधारित भएर राजनीतिक प्रतिवेदन र विधान पारित भएको भन्दै अहिलेको केन्द्रीय कमिटी सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा आएको बताए । प्रचण्डले महाधिवेशनमा प्रतिवेदन र विधानमाथि गम्भीरतापूर्वक समूहगत छलफल गरी त्यसमाथि बहस गरेर पारित गर्दा पनि कतिपयले प्रचण्डको आदेशमा ताली लगाएर नेतृत्व चयन भएको भन्नु गलत रहेको बताए । उनले महाधिवेशन र महाधिवेशनमा आएका झन्डै १८ सय प्रतिनिधिलाई अपमान गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले प्रचण्ड नहुने हो भने माओवादी पार्टी के होला भनेर कतिपयले भन्ने गरेको भन्दै यो प्रश्न नै गलत रहेको बताए । ‘माओवादी एउटा क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी विचार हो । यसले इतिहासमा निकै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको छ । युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको छ,’ उनले भने,
‘हामीले फेरि एकपटक ऐतिहासिक क्रमभंग गरेका छौँ । हामीले यो पार्टीलाई क्रान्तिकारी पार्टीकै हिसाबमा अगाडि बढाउने, राष्ट्र र जनताको बृहत्तर हितमा समर्पित पार्टीको हिसाब अगाडि बढाउने महाधिवेशनबाट ऐतिहासिक संकल्प लिएर आएका छौँ ।’ नयाँ पत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया