काठमाण्डौंः जिल्ला अदालत मकवानपुरले तेस्रो लिङ्गीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
अदालतले २०७६ साल माघ ४ गते बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी (नाम परिवर्तन) को हत्यामा संलग्न ३ जनालाई आजीवन कैदको फैसला गरेको हो । अदालतले हत्यामा संलग्न मध्ये अन्य एकजना नाबालकलाई १६ वर्ष कैद, एकजनालाई ४ वर्ष कैद र एक महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो । यस्तै आरोपित चारजनाबाट हत्या भएकी तेस्रो लिङ्गीकाको परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतका निमित्त श्रेस्तेदार अमृत घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार हत्यामा संलग्न रहेका सुशील थापा, बुद्ध लामा र आशिष बललाई जबरजस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा आजीवन कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवाना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।
यस्तै हत्यामा संलग्न रहेका नाबालक (नाम परिवर्तन) लाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति, अर्को आरोपित सिमोन परियारलाई बलात्कार र हत्या तर्फ ४ वर्ष कैद, डाका तर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिङ्गीको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ ।
पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउने फैसला भएको समेत घिमिरेले जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया