काठमाण्डौः कम्युनिष्टहरूको कार्यशैली र सोचबाट आजित अमेरिका नेपाली कम्युनिष्टहरूप्रतिको दृष्टिकोण र नीति बदल्ने निष्कर्शमा पुगेको सम्बद्ध सूत्रहरूले जनाएका छन् ।
संसद्बाट एमसीसी अनुमोदन भए पनि र नभए पनि कम्युनिष्टप्रतिको अमेरिकी नीति र व्यवहार अब पहिलेजस्तो नरहने सूत्रको दाबी छ । नेपालमा काङ्ग्रेसको एकलौटी सरकार भएको अवस्थामा मात्र अमेरिकाका निम्ति अनुकूल वातावरण बन्ने विश्वास अमेरिकीहरूले गर्न थालेका छन् ।
यता शेरबहादुर देउवाले खोजेको पनि आफ्नो नेतृत्वमा एकमना सरकार नै हो । त्यसैले आगामी संसदीय निर्वाचनमा काङ्ग्रेसलाई बहुमत जुटाउन गज्जबको ‘गठजोड’ हुने देखिएको छ । त्यसनिम्ति काङ्ग्रेससँग एमालेको अल्पकालिक सहमति बनाएर अग्नि सापकोटालाई सभामुखबाट हटाउने, एमालेकै सहमतिमा देउवा नेतृत्वको सरकारलाई ‘निरन्तरता दिने र ‘शीघ्र’ या नियमित समय (संसद् विघटन गराएर या आगामी मङ्सिर) मा संसदीय निर्वाचन गराई काङ्ग्रेसलाई बहुमत दिलाउने योजनाका साथ काम अघि बढेको छ ।
तर अमेरिका र देउवा दुवैको एउटै डर के देखिन्छ भने कुनै पनि निहुँ र समयमा कम्युनिष्ट घटकहरू एकजूट हुन सक्छन् । प्रचण्ड र माधव नेपालसँगको गठबन्धन टुटेको अवस्थामा आगामी संसदीय निर्वाचनमा कम्युनिष्टहरू पुनः एक भएर जाने छन् या छैनन् भन्ने बारेमा अमेरिका र देउवा यकीन हुन सकेका छैनन् । निर्वाचनमा कम्युनिष्ट वामपन्थीहरूबीच गठबन्धन बन्ने डर भएकोले मात्र शेरबहादुर देउवा प्रचण्ड-म छोडेर केपीसँग
कार्य गर्न हच्किएका हुन् । ज्ञातव्य छ, अबको संसदीय निर्वाचनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको समूहबीच चुनावी गठबन्धन हुने निश्चित मानिएको छ । उता नेकपा एमाले, राप्रपा (कमल थापा), लोसपा र सीके राउतका बीचमा पनि चुनावी गठबन्धन बन्न सक्ने प्रवल सम्भावना छ । सभामुख हटाउने र एमसीसी अनुमोदन गराउने कुरामा देउवा र केपीबीच एक स्तरको सहमति बनिहालेछ भने पनि आगामी संसदीय निर्वाचनमा यी दुई पक्षबीच गठबन्धन बन्ने सम्भावना छैन । मुख्य प्रतिष्पर्धी दल भएकोले पनि उनीहरूबीच चुनावी न गठबन्धनको सम्भावना न्यून रहेको हो । बरु काङ्ग्रेसलाई पराजित गर्न एमाले, माओवादी, जसपा र माधव नेपालको समाजवादीबीच चुनावी गठबन्धन बन्यो भने अनौठो हुने छैन, र्न देउवा र अमेरिकाको मूख्य डर पनि यही नै हो ।
त्यसैले एमसीसी अनुमोदन नभए पनि देउवा वर्तमान गठबन्धन जोगाउन प्रयासरत हुन सम्भव छ । वर्तमान गठबन्धन जोगाउँदा डडेलधुराबाट आफू तथा कैलालीबाट पत्नी र मुलुकभरीबाट काङ्ग्रेसका उम्मेदवार विजयी बनाउन सजिलो हुने विश्वास देउवाको छ । स्मरणीय छ, देउवा एक्लै लडेर डडेलधुरामा उनको विजय सम्भव मानिदैन । काङ्ग्रेसका निम्ति सबैभन्दा सूरक्षित मानिएको कैलालीमा यसअघिको निर्वाचनमा आरजु राणा पराजित भएकी थिइन् । पति-पत्नी दुवैलाई आगामी निर्वाचनमा एमाले या माओवादीको बैसाखी आवश्यक पर्ने देखिएको छ र, देउवा दम्पत्ति आफैले यस्तो महसूस गरेका छन् । घटना र बिचारबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया