काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो ।
एमालेले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म संघीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले Batch no. 4120 Z 004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ । सांसदहरूका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको कुरा सबैलाई विदितै छ ।’
स्वास्थ्यमन्त्री खतिवडाको यो अभिव्यक्ति पूर्ववर्ती सरकारलाई बद्नाम गर्नका लागि मात्रै दिएको एमालेको दाबी छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ ।राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया