काठमाडौंः दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज (बुधवार)बस्दै छ । बुधवारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना बढेको छ ।
नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ र सभामुख अग्निकुमार सापकोटा पनि सदनबाट निकास खोज्नेबारे सकारात्मक बन्दै गएकाले एमसीसी प्रक्रियामा जाने सम्भावना बलियो बनेको हो ।
संसद्बाट एमसीसी सम्झौता पारित हुन दलीय सहमति भने जुट्न सकेको छैन । नेपाली कांग्रेसले यसलाई अनुमोदन गर्ने निर्णय लिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले ठोस निर्णय लिएका छैनन् । तर, यी दुवै दलले एमसीसीसहितका विषयमा छलफल गर्न बुधवार संसदीय दल बैठक डाकेका छन् ।
संशोधनविना अनुमोदन गर्न नहुने पक्षमा उभिँदै आएका यी दलहरूले अहिलेकै अवस्थामा एमसीसीलाई अघि बढाए संसद्मा टेबल हुन दिने तर अनुमोदनका पक्षमा मत नदिने सम्भावना बलियो छ । तर, सम्झौता पारित नभए सरकारमाथि नैतिक संकट पर्ने देखिन्छ । नेकपा एमालेले आफ्ना पूर्ववर्ती मागलाई सदनमा जोडतोडले उठाउँदै एमसीसीको प्रक्रियामा भागै नलिने सम्भावना बलियो छ ।
एमाले संसदीय दलका सचेतक विशाल भट्टराईले सरकारले एमालेसँग कुनै छलफलै नगरी एमसीसी अघि बढाउन खोजेकाले सदन सुचारु गर्न आफूहरूले सहयोग नगर्ने स्पष्ट पारेका छन् । ‘सदन सुचारु गर्न हाम्रा पूर्ववर्ती माग सम्बोधन भएका छैनन्, सदनमा हाम्रो विरोध रहिरहनेछ, सरकारमा हामी छैनौं, एमसीसीबारे सरकारमा भएका दलले निर्णय लिएको राम्रो,’ उनको भनाइ छ ।
प्रतिनिधिसभामा एमसीसी पेश हुने विश्वास नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको मंगलवारको बैठकले समेत एमसीसी संसद्मा पेश गरी अनुमोदनमा जानुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाले कांग्रेस सरकारमा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को विचार व्यक्त गर्ने दल नभएको संसदीय दलको बैठकमा बताउँदै कांग्रेस आफ्नो कर्तव्यबाट च्युत नहुने बताउनुभएको महामन्त्री थापाले बताएका छन् ।आर्थिक अभियान दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया