बैसाख २२, २०८३ मंगलबार May 5, 2026

सभामुख सच्याउन तयार नहुने हो भने बाटो छाडिदिनुपर्छ । – एमाले महासचिव, शंकर पोखरेल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चुनाव घोषणा भइसकेपछि पार्टीका कार्यक्रम के छन् ?

दसौं राष्ट्रिय महाधिवेशनपछि हाम्रो पार्टी विचार, कार्यक्रम, सिद्धान्त र संगठनका प्रश्नमा एक ठाउँमा उभिएको छ । एउटा जीवन्त र गतिशील पार्टीका रूपमा, पार्टी जस्तो अवस्थामा एमाले देखा परेको छ । सरकारले चुनाव घोषणा गरेको छ । त्यसैले अहिले चुनाव केन्द्रित तयारीका काममा जुटेका छौं ।

कम्युनिस्ट पार्टीहरूमा दुई लाइन संघर्ष हुन्थ्यो । त्यसलाई समाप्त पार्ने कोसिस गरियो भन्ने आरोप छ नि ?

कम्युनिस्ट आन्दोलनभित्र स्वार्थमा आधारित अन्तरद्वन्द्वलाई सिद्धान्तको लेपन लगाइदिने र अदृश्य शक्तिको स्वार्थसँग जोडेर व्याख्या विश्लेषण गर्ने परम्परागत रोग छ । नेकपाको एकता रक्षाका लागि अन्तिम प्रयास गर्दा प्रचण्ड निवासमा पुगेको थिए । प्रचण्डलाई मैले तीनवटा विषयमा सचेत पार्ने कोसिस गरें– पार्टीमा तपाईंले जुन प्रकारको अभियोग पत्र दर्ज गर्नुभएको छ, त्यो निषेधकारी छ, रूपान्तरणकारी छैन । दुइटा पार्टी मिलेर गरिएको एकतामा एउटा पक्षको प्रमुख नेतामाथि तपाईंले जुन प्रकारको आरोप लगाउनुभएको छ, त्यो एकता भंग गर्ने प्रयास हो । एकताको रक्षा गर्ने हो भने त्यो प्रस्ताव फिर्ता लिनुपर्छ । सुरुमा तपाईंको प्रतिष्ठाले फिर्ता लिन गाह्रो हुन्थ्यो । यस अर्थमा दुवै प्रस्ताव फिर्ता लिउँ भन्नुस् । दुवै जनाले फिर्ता लिएपछि तपाईंहरूको अनावश्यक इगोको टकराव हुँदैन ।

उहाँले त्यो सम्भव छैन भन्नुभयो । चौथो महाधिवेशनको धारभित्र यो स्वाभाविक रूपमा हुने गरेको तर्क गर्नुभयो । मैले उहाँलाई त्यसका परिणामहरू के भए भनेर सोधें । मैले भनें– हामीले हेर्ने त परिणाममा हो । न्युक्लियस निर्माणका सन्दर्भमा पुष्पलालले सबैलाई समेटेनन् । मनमोहनलाई छाडेर तपाईंहरूले अलग्गै चौथो महाधिवेशन आयोजना गर्नुभयो । चौथो महाधिवेशन गठन गरिसकेपछि त्यसको मुख्य नेतृत्वकर्ता निर्मल लामाप्रति तपाईंहरूले दक्षिणपन्थी आरोप लगाउनुभयो । त्यही कारण पार्टी विभाजन भयो । तपाईंहरूले मसाल बनाउनुभयो । मसालमा पनि सांस्कृतिक विचलनको प्रश्नमा मुख्य नेतृत्वमाथि प्रहार गर्नुभयो र पार्टी विभाजन भयो । समयक्रममा तिनै मोहनविक्रम तपाईंहरूका लागि स्वीकार्य भए । सांस्कृतिक विचलनको प्रश्नलाई तपाईंहरूले पुष्टि गर्न सक्नुभएन । तपाईंहरूले जब एकताको प्रक्रियामा माओवादीतर्फको यात्रा आरम्भ गर्नुभयो, तपाईं र बाबुरामजीको बीचमा एकले दरबारपरस्त र अर्कोले भारतपरस्तको आरोप लगाउनुभयो । अन्ततः बाबुरामजी तपाईंबाट अलग हुनुभयो । संक्रीर्णतावाद कि व्यवहारवाद भनेर बहस गर्नुभयो र मोहन वैद्यमाथि प्रहार गर्नुभयो, वैद्य अलग हुनुभयो । र, दुई कार्यनीतिको प्रयोग गर्नुभयो । एउटा हिस्सा संसदीय संघर्षमा र अर्को हिस्सा क्रान्तिको तयारीमा भन्नुभयो, विप्लवजीलाई अलग गरिदिनुभयो ।

हरेक मामिलामा तपाईं असफल हुनुभएको छ । फेरि त्यही विधि नेकपामा प्रयोग गर्न खोज्नु उचित हो ?

प्रचण्डले जवाफ दिन सक्नुभएन । एकताका लागि गरेका प्रयासभित्र के कमजोरी रहे भन्नेको जवाफ सधैंभरि संसद् विघटनमा खोज्छौं । त्यसका जड कारण के छन् भन्नेमा बहस गर्दैनौं । संसद् विघटन परिणाम न हो, कारण होइन । अन्तरसंघर्षको कारण त होइन । अहिले पनि सार्वजनिक बहस संसद् विघटनमा केन्द्रित छ । आज प्रचण्ड वा माधव नेपालहरू कारणमा गइराख्नुभएको छैन, परिणाममा जानुभएको छ । एकातिर भन्नुहुन्छ संसद्प्रति ‘क्रिटिकल’ छौं । अर्कातिर जनताका बीचमा जाने कुरा प्रतिगमन हो भन्नुहुन्छ । उहाँहरू कति मार्क्सवादी हुनुहुन्छ, मार्क्सवादी दृष्टिकोणबाट नेपालको राजनीतिलाई कसरी डोर्‍याउन खोज्नुभएको छ भन्ने कोणबाट मिडिया विश्लेषणमा पनि प्रकट भएको देखिएन । एक प्रकारको आग्रहपूर्वाग्रह त्यहाँ पनि झल्किन्छ । हामी एक प्रकारले भन्ने हो भने, स्वार्थहरूको असहमतिलाई सिद्धान्तको लेप लगाउने परम्पराबाट गुज्रिएका छौं । त्यसको असर नेपालको वामपन्थी आन्दोलनभित्र छ । जस्तो– मोहनविक्रमले कांग्रेससँग मिलेबापत गद्दार पुष्पलाललाई देख्नुभयो । आज शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा उहाँहरूको क्रान्तिकारी अभीष्ट भएको छ ।

अर्कातर्फ प्रचण्ड नेपालमा एउटा क्रान्तिको धारको नेतृत्व गरें भन्नुहुन्छ । तर जोसँग ४० बुँदे माग राख्दै यो सत्ता जनविरोधी, राष्ट्रविरोधी छ भनी आलोचना गरेर जनतालाई बलिदानका लागि तयार गर्नुभयो, १७ हजार बलिदानको पछाडिका प्रचण्ड शेरबहादुर देउवालाई नेतृत्वमा ल्याउने कुरालाई क्रान्तिकारी ठान्नुहुन्छ । यसबाट नेपालका वामपन्थी आन्दोलनका नेताहरूका ‘जार्गन’ लाई बुझिन्न ? शेरबहादुर देउवा संसदीय राजनीतिमा नेपालको संविधानलाई डिरेल गर्ने एक मात्र पात्र हो । माघ १९ बिर्सेका छौं र ? देउवाको कारणले होइन ?

नेकपा विभाजनमा कारण र परिणामको कुरा गर्नुभयो । गएको आमनिर्वाचनमा वाम गठबन्धन बनाउँदा परिणामलाई मात्रै हेर्नुभएको थियो, होइन र ?

तपाईंहरूले जे काम गर्नुभयो, असाधारण, ऐतिहासिक गर्नुभयो र दुनियाँका सामु चुनौती खडा गर्नुभयो तर चुनौतीलाई सामना गर्न आवश्यक न्यूनतम काम पनि गर्नुभएको छैन भनेर पहिलो स्थायी कमिटी बैठकमा लिखित रूपमा दस्ताबेज प्रस्तुत गर्ने मै हुँ । पुष्पकमल दाहालले अब कम्तीमा ५० वर्ष कांग्रेस प्रतिपक्षमा बसेर कम्युनिस्टले कसरी सरकार चलाउँछन् हेर्नुपर्छ भनेको सबैले सुनेको होइन ? त्यो सामान्य अभिव्यक्ति हो ? एक प्रकारले भन्ने हो भने सत्ताच्युत भएका दक्षिणपन्थी शक्ति वा कम्युनिस्टविरोधी शक्तिलाई उत्तेजित गर्ने अभिव्यक्ति हो त्यो । उत्तेजित गर्ने अनि एकता जोगाउन गर्नुपर्ने न्यूनतम काम पनि नगर्ने ?

एकतालाई आफ्नो स्वार्थको माध्यम बनाउन खोजियो । केपी ओलीको स्वाथ्यलाई केन्द्रित गरीकन एकताका लागि तयार भएको सन्देश सम्प्रेषण गरियो । जब केपीको स्वास्थ्य सुदृढ हुन थाल्यो, प्रचण्डले नेकपाभित्र अन्तरविरोधमा खेलेर अग्लो हुन खोज्नुभयो । पूर्वएमालेभित्रको विवादमा खेल्न खोज्नुभयो । दुईवटा कार्यदिशा, दुईवटा स्कुलिङलाई कसरी एकताबद्ध गर्ने भन्ने कुरामा वैचारिक राजनीतिक बहस गर्नुपर्ने बेला अन्तरविरोधमा खेलेर एकताको रक्षा हुन्छ ? उहाँले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभयो । त्यसको परिणाम दुवै जना सडकमा पछारिनुपर्‍यो, आज हालत के छ ? कांग्रेसलाई धुरी मानेर अस्तित्व रक्षामा हिँड्नुपरेको छ । कांग्रेसका स्वार्थहरूबाट अगाडि बढ्दा वामपन्थी भइँदैन । वामपन्थी हुनका लागि कांग्रेससँग टकराउनुपर्छ, टकराउने आँट नै छैन ।

शीर्ष नेताहरूले ब्रेकफास्ट, लन्च र डिनर सँगसँगै गर्दा धेरै कुरा बिग्रिएको भनिन्छ नि ?

एउटै काममा दुई जना जोडिनुपर्ने आवश्यकता नै थिएन । नीतिगत रूपमा मार्ग दर्शन गर्ने र सरकार सञ्चालनको जिम्मा केपी ओलीले लिने र पार्टी निर्माणका लागि प्रचण्ड कुदेको भए अन्तरविरोध नै हुने थिएन । जे काम गर्नुपर्ने हो त्यो काम नगर्ने र गर्नुपर्ने सन्दर्भका बारेमा उत्पन्न भएको समस्यालाई लगेर चुनाव गर्न खोज्यो, प्रतिगमन भयो भनेर सैद्धान्तीकरण गरियो ।

नेकपा विभाजनमा ओली पक्षबाट कुनै दोष छैन भन्न खोज्नुभएको हो ?

पार्टी एकता गरियो, एकता जोगाउन सकिएन, त्यो नै कमजोरी हो । परिणामको हिसाबले कमजोरी हो तर ५ वर्ष सरकार चलाउनुपर्छ भन्ने कमजोरी हो र ? जनताका बीचमा जे कुरा गरिएको थियो, त्यसअनुसार समय नपुगीकन सरकार परिवर्तन गर्नु हुँदैन भन्नु कमजोरी हो र ?

पार्टी विभाजनपछि पुष्पकमल दाहाल र माधव नेपालका पार्टी सत्तामा पुगेका छन् । एमाले प्रतिपक्षमा छ । यो पार्टी विभाजनको परिणाम होइन र ?

क्षतिको अर्थ प्राप्त जनादेश खण्डित भयो भन्ने हो । आन्दोलनको हिसाबले त्यो क्षति नै हो । त्यसैले जनतालाई जे भनिएको थियो त्यो पूरा गर्न सकिएन भने फेरि जनतामा गएर नयाँ म्यान्डेट प्राप्त गर्नुपर्छ भन्ने विषय नै लोकतान्त्रिक मान्यता हो । हाम्रो आदर्शअनुसार नयाँ चुनावको कुरा गरेका हौं । अहिले पनि त्यही भन्दै छौं । हामीले प्राप्त गरेको म्यान्डेट जोगाउन सकेनौं । पुरानो जनादेशलाई खण्डित गरिएको संसदीय जनादेश काम लाग्दैन । कांग्रेसविरुद्ध लडेर भोट माग्ने अनि बहुमत प्राप्त गर्ने, कांग्रेसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय जनमतको खिलाफ हो । अहिलेको खण्डित जनादेशलाई जति सकिन्छ चाँडो जनतामाझ गएर अनुमोदन गरिनुपर्छ । माधव नेपाल र प्रचण्डले जनादेशलाई बिक्री गर्नुभयो । त्यो भनेको लोकतन्त्रविरोधी, जनघाती काम हो । यसले संसदीय प्रणाली र लोकतन्त्रलाई कमजोर पार्छ ।

पुष्पकमल दाहालले केही दिनअघि आवश्यक परे बालकोट जान्छु र ओलीसँग वार्ता गर्छु भन्नुभयो । त्यसको अर्थ दुई नेताबीचको ढोका खुला नै हो ?

संवाद एमालेले रोकेको होइन । पार्टी अलग भएको समयमा पनि केपी ओलीले प्रचण्डलाई फोन गर्नुभयो । अदालतले १५ दिनको समयसीमा दिएको छ, त्यसमा हामी नयाँ शिराबाट जाने कि अदालतको निर्देशनअन्तर्गत पुनः एकताको बाटोमा जाने विषयमा छलफल गर्दै जान सक्छौं भनेर बोलाउनुभएको हो । प्रचण्डले ठाडै अस्वीकार गर्नुभयो । अन्तरसंघर्ष हुनेबित्तिकै संवाद नै छाड्नुपर्छ भन्ने मान्यता उचित होइन । अहिले पनि सत्तासँग हाम्रो असहमति छन् तर संवाद गर्नुपर्छ भन्ने नै हो ।

हाम्रो केही सैद्धान्तिक अडानमा सत्तापक्ष सहमत नभएका कारण सर्वपक्षीय बैठकमा नगएका हौं । माधवकुमार नेपाललाई जसरी पार्टीका रूपमा खडा गरियो । त्यो एक प्रकारको अनैतिक, अनुचित, गैरकानुनी काम थियो । उहाँ जुन बाटो हिँड्नु भयो त्यो लोकतन्त्र, पार्टी, राष्ट्रको पक्षमा छैन भन्ने बुझेर त्यो गलत बाटोलाई हामीले दण्डित नगरेसम्म अर्को पार्टी पनि त्यही प्रवृत्तिको सिकार हुन्छ । नेपालमा बलिया राजनीतिक शक्ति चाहिएको छ ।

षड्यन्त्रद्वारा पार्टी विभाजन गर्ने पद्धतिलाई स्थापित गर्ने हो भने लोकतन्त्र बहसरी बलियो हुन्छ ? ओलीले सरकारमा हुँदा राजनीतिक दलसम्बन्धी विधेयकमा पार्टी वा संसदीय दलमा ४० प्रतिशत भन्ने व्यवस्था गर्नु खोज्नुभएको थियो । संसदीय व्यवस्थाको अभ्यासमा संसद्भित्रको संख्यालाई आधार बनाइन्छ, पार्टीलाई होइन । संसद् र पार्टीमा ४०–४० प्रतिशत बनाउन ‘र’ को प्रावधान थियो । ओलीको पहललाई अस्थिरता निम्त्याउन खोजियो भनेर प्रहार भयो । त्यसरी प्रहार गर्नेमा कांग्रेस, प्रचण्ड र माधवकुमार नेपाल पनि हुन् । अध्यादेशबाट ४० प्रतिशतको ठाउँमा २० प्रतिशतमा झारी ‘वा’ बनाएर एमाले पार्टीलाई कृत्रिम रूपमा विभाजित गरियो र साता दिन नपुग्दै अध्यादेश फिर्ता गरियो । यो अनैतिक कामको जति आलोचना गर्नुपर्ने हो, भयो ? नेपालको लोकतान्त्रिक इतिहासमा प्रणालीलाई ध्वस्त गरी यति अपराधपूर्ण काम शेरबहादुर देउवाको नेतृत्वमा भएकामा उहाँहरू दङ्दास हुनुहुन्छ । तर जनताले त्यसमा विचार गरेका छन् । त्यही कारण उहाँहरू चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ । सरकार दुनियाँमा कहीं नभएको परमादेशबाट बनेको छ ।

नेपालको राजनीतिमा आन्तरिक कारणले मात्र यस्ता घटनाक्रम हुन्छ कि बाह्य प्रभाव पनि छ ?

बाह्य प्रभाव पनि छ । नेपालको अस्थिरता यहाँका राजनीतिज्ञहरूको अकुशलताको मात्रै नभएर ‘प्रभोकेसन’ पनि छ । तर प्रभोकेसनलाई पनि प्रतिरोध गर्ने सामर्थ्य नेपालका राजनीतिज्ञहरूमा हुनुपर्छ । अरूलाई दोष दिएर भएन ।

आफ्नो स्वार्थ पूर्तिका लागि बाह्य शक्तिले जहाँ पनि खोल्ने खोज्छन् । त्यसलाई सामना गर्ने सामर्थ्य निर्माण गर्नका लागि बलियो शक्ति निर्माण गर्नुपर्छ । नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको ठाउँमा धेरै शक्ति हुनु भनेको बाह्य चलखेल बढ्नु हो । नेपालमा दुईवटा शक्तिको आवश्यकता छ । एउटा कोणबाट अहिले पाँचदलीय गठबन्धनले नेपालको राजनीतिलाज्ञई ध्रुवीकरणतर्फ लगेको देखिन्छ । एउटा ध्रुवको नेता कांग्रेस र अर्कोको एमाले हो । यो दुई प्रवृत्ति नेपालमा स्थापित भएर भने एक समय एउटा सत्तामा र अर्को प्रतिपक्षमा हुन्छ । अन्य सहयोगी हुन्छन् ।

आगामी चुनावमा माओवादीसँग एकता वा गठबन्धनको सम्भावना छ ?

नीतिगत तहमा मतभेद उत्पन्न भयो भनेर अलग भएका शक्तिहरूका बीच त्यो विषय निरूपण नभई एकता भन्ने विषय सम्भव छैन । जनताले पनि मजाक ठान्छन् । केपी ओलीमाथि आरोप बाँकी राखेर एकता हुन्छ र ? आरोप गलत हो भन्दै हामी एकपटक उहाँहरूबेगर जनतामा जान चाहन्छौं । तब न नेपालको राजनीतिक शुद्धीकरण हुन्छ । मन पर्‍या बेला एमालेतिर थिए, मन नपर्‍या बेला कांग्रेसतिर गए । कांग्रेससित स्वार्थ पूरा नहुँदा एमालेतिर भन्ने कुरा स्वीकार हुन सक्छ र ? त्यसले अवसरवादलाई प्रश्रय दिन्छ । राजनीतिलाई सही बाटोमा हिँडाउने हो भने अवसरवाद पराजित हुन जरुरी छ । प्रचण्डको अभिव्यक्तिमा अवसरवाद प्रकट हुन्छ, यो नबिर्सौं । उहाँले हिजो राजनीतिक दस्ताबजेमा केपी ओलीलाई वामपन्थी मानेकै छैन भनेर लेख्नुभयो । सञ्चारमाध्यममा वामपन्थी मानेका छौं भन्नुभयो, वामपन्थीबीच एकता जरुरी छ भन्नुभएको छ । दस्ताबेजमा एउटा कुरा लेख्ने अनि कांग्रेसले अप्ठ्यारो पार्‍यो भनेर अर्को कुरा गर्न मिल्छ र ?

एमालेले पनि माओवादी र एकीकृत समाजवादीलाई वामपन्थी शक्तिका रूपमा स्वीकार गरेको छैन नि ?

हामीले असहमतिका बाबजुद पनि माओवादीलाई पार्टीका रूपमा मानेकै छौं । पार्टीका रूपमा मान्यता नदिएको माधव नेपाल पक्षलाई मात्रै हो । त्यसको निर्माण प्रक्रिया नै गैरसंवैधानिक छ । हामीले माधव पक्षविरुद्ध अदालतमा मुद्दामा पनि हालेका छौं । माओवादी केन्द्रको महाधिवेशनमा उहाँहरूले हाम्रो महाधिवेशनमा पठाएको प्रतिनिधिको तुलनामा उच्च तहको नेता पठायौं । गलत नीतिको विरोध भण्डाफोर हुन्छ । भण्डाफोर गर्‍यो भन्दैमा उनीहरूको अस्तित्वलाई स्वीकार नगरेको भन्ने होइन ।

अब वामपन्थी एकताको केही सूत्र देख्नुहुन्छ ?

नेतृत्व तहको एकता एउटा कालखण्डका लागि गुज्रिइसक्यो । त्यो तत्काल सम्भव छैन र अहिलेका लागि असान्दर्भिक पनि छ । जबसम्म ‘रिअलाइजेसन’ हुँदैन तबसम्म टाउको जोड्ने कुरा उचित छैन । आन्दोलनको ध्रुवीकरण जरुरी छ भनेर हामीले पहल गरेकै छौं । माओवादीभित्रका नेता कार्यकर्तालाई पनि वामपन्थीकै रूपमा स्वागत गरेका छौँ । उनीहरूको इतिहासलाई गौरवपूर्ण इतिहासका रूपमा कदर गर्छौं । उनीहरूको बलिदानको उच्च सम्मान गर्छौं । कमजोरी नेतृत्वको हो, कार्यकर्ताको भावनाको होइन । माधव नेपालसँगै गएकै मान्छेसँग पनि हाम्रो त्यति घृणा छैन, जति माधव नेपालसँग छ ।

आगामी चुनावमा एमाले एक्लै जान्छ कि कुनै गठबन्धन बनाउँछ ?

हाम्रो मुख्य उद्देश्य पार्टीका नीति स्थापित गर्नेछ । चुनावी घोषणापत्र संयुक्त हुँदैन, एमालेको घोषणापत्र जारी गर्छौं । त्यो चुनावी घोषणापत्रसँग सहकार्य गर्न तयार हुनेसँग स्थानीय तहमा मिल्न सकिन्छ । यसरी स्थानीय तहमा तालमेल हुन सक्ला तर त्यो राष्ट्रिय नीतिअनुसार हुँदैन ।

पार्टी विभाजनपछि एमाले कमजोर भएको ठान्नुहुन्छ ?

सबभन्दा बढी जनसंख्या भएको मधेस प्रदेशमा हिजो जान सकेका थिएनौँ । आज हामीलाई खोजी गर्ने लहर सुरु भएको छ । मधेस प्रदेशमा एकताका बेलाभन्दा सुदृढ छौं । माधव पक्षले हामीलाई केही क्षति पुर्‍याएकै छ । त्यो क्षतिलाई हामीले माओवादीबाट प्लस गरिसकेका छौं । अन्य पार्टीबाट आउने फाइदाका रूपमा छन् । विगतमा भन्दा राम्रो परिणाम ल्याउन सक्षम छौं । जनताका बीचमा एमालेप्रति समर्थन र विश्वास अभूतपूर्व रूपमा प्रवाह भएको छ । गठबन्धन सरकारले जति लामो समय बिताउँछ, त्यति हाम्रो पक्षमा जनमत बढ्दै जान्छ । अर्थतन्त्रका सूचकमा नकारात्मक संकेत देखा परेका छन् । नेपाल सानो अर्थतन्त्र भएको मुलुक हो, यहाँ छोटो समयमा रूपान्तरण गर्न सकिन्छ ।

एमसीसी सम्झौता अनुमोदन प्रक्रियामा एमालेको भूमिका के हुन्छ ?

विषय संसद्‌भित्रको छ । संसद्भित्र एमालेलाई पस्न दिइएको छैन । दलले कारबाही गरेका मान्छेको सूचना प्रकाशन गर्ने जिम्मा लिएका सभामुखले सूचना होल्ड गरेर बस्न मिल्दैन । १५ दिनको समय गुजार्न हुँदैन भनेर दिएको हो । घरमै बसेर सभामुखले १४ दिन गुजार्न मिल्छ र ? सरिता गिरीको केसमा एउटा मापदण्ड, टोपबहादुर रायमाझीहरूका हकमा अर्को मापदण्ड, माधव नेपालका सन्दर्भमा अर्को गर्न मिल्छ ? यसमा हामीले संसद्मा आवाज उठाइरहेका छौं ।

दलले गरेको कारबाही सूचना सभामुखले जारी गर्नुपर्छ । सभामुख सच्याउन तयार नहुने हो भने बाटो छाडिदिनुपर्छ । गठबन्धनसँग बहुमत छँदै छ, अर्को सभामुख ल्याए भयो । गल्ती नसच्याउने हो भने बाटो छाडिदिनुपर्छ । सभामुखको काम ट्राफिकको हो, नियम पुगेको छैन भने पुर्‍याऊ भन्नुपर्छ । नियम पुगेको चिजलाई संसद्मा टेबल गर्न दिर्नैपर्छ । टेबल गरेपछि के गर्ने भन्ने हाम्रो कुरा हो । हामी संसद्मा गएर मतदान गर्नुपर्ने भयो भने गर्छौं, बोल्नुपर्ने भयो भने बोल्छौं । सम्झौता गर्नेहरूले यसबारे आफ्नो दृष्टिकोण दिनुपर्‍यो । शेरबहादुर देउवा र पुष्पकमल दाहालले सम्झौता गर्नुभएको हो । नेपाल सरकारको प्रतिनिधिले स्पष्ट गर्नुपर्‍यो । परराष्ट्र मन्त्रालय, क्याबिनेटले किन अनुमति दिएको भन्नुपर्‍यो । त्यसपछि हामी आफ्नो कुरा बताउँछौं ।

संसद्‌बाट अनुमोदन गर्ने प्रक्रियाका कारण बढी बहस भयो भनिन्छ नि ?

अनुमोदन नगर्दा ठीक हुने, गर्दा बेठीक हुने हुन्छ र ? सम्झौता ठीक/बेठीक भन्ने कुरा हस्ताक्षर गर्दा हुन्छ नि ? एमसीसी संसद्मा लाने प्रक्रिया नगरेको भए हुन्थ्यो भन्ने तर्क सुनिन्छ । बेठीक हो भने संसदीय प्रक्रियामा लगेर जनतालाई बताउनुपरेन ? ठीक हो भने ठीक भन्नुपर्‍यो बेठीक हो भने बेठीक भन्नुपर्‍यो । यो कुरा सबभन्दा पहिले हस्ताक्षर गर्नेहरूले भन्नुपर्‍यो । त्यसपछि ठीक छ कि बेठीक जनतालाई बताउँछौं । प्रतिस्थापन विधेयक नारा लगाउँदालगाउँदै पारित गर्न सक्ने सत्ता गठबन्धन र सभामुखले अहिले आएर अवरुद्ध छ भन्न मिल्छ ? अहिले प्रचण्डजीले एमसीसी पास गर्ने हो भने स्थानीय चुनावपछि प्रधानमन्त्री चाहियो भनेको सुनें । त्यो सौदाबाजी हो । अहिले सत्ता गठबन्धनसँग महाभियोग पारित गर्ने संख्या नहुँदानहुँदै प्रतिपक्षसँग परामर्शसमेत नगरी प्रधानन्यायाधीशविरुद्ध षड्यन्त्रपूर्ण र नियोजित रूपमा महाभियोग प्रस्ताव ल्याइएको छ ।

गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याएको महाभियोग प्रस्तावमा किन आपत्ति जनाउनुभयो ?

यसले सत्तापक्ष र प्रतिपक्षबीच लामो समयपछि सुरु भएको संवाद प्रक्रियालाई बिथोलेको छ । यसले मुलुकलाई नयाँ शिराबाट मुठभेडमा धकेल्ने प्रपञ्च बोकेको छ । सत्तापक्षले ल्याएको महाभियोग प्रस्तावले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने र अदालतलाई सत्ताको आदेशपालक बनाउने नियत राखेको छ । एमालेको निरन्तरको खबरदारी र जनस्तरको दबाबबाट तय भएको स्थानीय निर्वाचनलाई धकेल्ने कुनियत बोकेको छ । हामी यसको डटेर सामना गर्छौं । मुलुकको संवैधानिक र राजनीतिक प्रणालीलाई कमजोर र अस्थिर बनाउने तथा नेपालको स्वाधीनता र स्वाभिमानमा नै चोट पुर्‍याउने जोखिम यो महाभियोग प्रस्तावले गरेको छ । एमाले यस प्रकारका षड्यन्त्रपूर्ण कदमको डटेर सामना गर्न र त्यसका कुत्सित मनसायलाई असफल बनाउन दृढ र सक्षम छ ।

महासचिवको हैसियतले एमालेमा राजनीतिक, सांगठनिकलगायत पक्षमा के परिवर्तन गर्दै हुनुहुन्छ ?

एमाले आफ्नो मूल नीतिअनुसार अघि बढ्न सकेको थिएन । मदन भण्डारीले जुन नीति (जनताको बहुदलीय जनवाद) अघि सार्नुभएको थियो । त्यसलाई व्याख्या गर्ने, त्यसका आधारमा पार्टी निर्माण गर्ने, पार्टी सञ्चालन गर्ने कुरा अघिल्लो समयमा हुन सकेको थिएन । अब विचार, संगठन र नीतिका प्रश्नमा एउटै लयमा हिँड्ने ठाउँमा आइपुगेका छौं । यसले स्वाभाविक रूपमा नेपालको राजनीतिमा परिवर्तन ल्याउँछ । पार्टी जीवन्त, गतिशील र आत्मविश्वाका साथ अघि बढ्ने ठाउँमा जब पुग्छ, त्यसले समाजमा केही न केही परिवर्तन ल्याउँछ । परमादेशबाट सरकार बनेपछि संसद् संसद्जस्तो छैन, सरकार सरकारजस्तो छैन । अदालत अदालतजस्तो छैन । राज्यका मुख्य तीन अंगमाथि जनताको विश्वास टुटेको छ । कमजोर शक्तिले विश्वासलाई पुनःस्थापना गर्न सक्दैन । बलियो शक्तिलाई जनताले रोज्नुपर्छ । कुन शक्ति बलियो हुँदा राष्ट्रिय स्वाधीनताको पक्षमा, विकास र समृद्धिको पक्षमा र नेपाली समाजलाई सही दिशामा डोर्‍याउन सक्छ, हेर्नुपर्छ । बलियो सरकारको पक्षमा एमाले हुनुपर्छ । यसको छिनोफानो गर्न छिटो चुनावमा जाऔँ ।

स्थानीय चुनाव सर्ने सम्भावना छ र ?

चुनाव घोषणा भइसकेपछि कानुनी र संवैधानिक हिसाबले गर्नुपर्छ । चुनाव सार्ने अपव्याख्या त भयो नि । सार्ने प्रयत्न भयो भने हामी डटेर सामना गर्छौं ।

एउटा व्यक्तिगत प्रश्न, तपाईँ बढी अन्तरमुखी हुनुहुन्छ, कार्यकर्तासँग कम घुलमिल हुनुहुन्छ भनिन्छ नि ?

मान्छेका बारेमा बुझाइ आ–आफ्नो हुन्छ । एमालेका नेता कार्यकर्ताले के ठान्छन् भन्ने मुख्य चिज होला । अनावश्यक टीकाटिप्पणी गर्दै हिँड्नु उपयुक्त होइन । धेरै कुरा सुन्नुपर्छ, संश्लेषित कुरा बोल्नुपर्छ भन्ने ठान्छु । म सिस्टमको पक्षमा पैरवी गर्छु । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार