श्रावण ५, २०८२ सोमबार July 21, 2025

सत्ता गठबन्धनकै घेराबन्दीमा प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका हुन्। एमसिसीबारे सरकारमा रहेका दलहरूबीच फरकफरक धारणा सार्वजनिक मात्रै भएका छैनन्, गठबन्धन दलकै नेता–कार्यकर्ता सडक आन्दोलनमा उत्रिएका छन्।

प्रतिनिधिसभामा बुधबार एमसिसी सम्झौता पेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालले सहमतिबिना अघि बढे गठबन्धन टुट्ने धम्की दिएपछि त्यसबाट पछि हटेका छन्। ‘विगतदेखि नै माओवादी र नेकपा एसको धारणा स्पष्ट छ।

संशोधनबिना एमसिसी सदनमा पेस गर्नुहुँदैन। गठबन्धन दलहरूबीच सहमति नगरी प्रधानमन्त्री एक्लै अघि बढ्न खोज्नुभयो। प्रधानमन्त्री एक्लै अघि बढ्नु भनेको गठबन्धन टुट्नु नै हो,’ माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमसिसी सम्झौता संशोधनबिना सदनमा पेस गर्न नहुने र प्रधानमन्त्री एक्लै अघि बढे सरकार छाड्ने निर्णय गरेको छ। संसदीय दलको निर्णय बोकेर अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

दाहालले एमालेले सदनमा गरेको अवरोध हटाउनुपर्ने, एमसिसीमा संशोधन र राष्ट्रिय सहमति गर्नुपर्ने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले प्रधानमन्त्री एक्लै अघि बढ्न खोजे आफ्नो दल सरकारबाट हट्ने जानकारी पनि गराएका थिए।

सत्ता गठबन्धन टुट्ने सम्भावना बढ्दै गएपछि थप छलफलका लागि प्रधानमन्त्री देउवाले बिहीबारका लागि गठबन्धनको बैठक बोलाएका छन्। गठबन्धन दलका नेताहरूले एमसिसीका विषयमा एकदुई दिन अघि नबढ्न आग्रह गरेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। कांग्रेस सकेसम्म माओवादी र नेकपा एसको समर्थनमा एमसिसी पास गर्न चाहन्छ।-नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया