श्रावण ५, २०८२ सोमबार July 21, 2025

दोस्रो प्रयासमा पनि प्रधानमन्त्रीले एमसिसी टेबुल गराउन सकेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्ता सहयात्री दलकै सांसदहरूले अवरोधबीच कार्यसूची बन्न नसक्ने अडान लिएपछि एमसिसी  संसदमा  टेबुल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो प्रयास पनि असफल भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले शुक्रबार एमसिसी टेबुल गर्ने गरी कार्यसूची बनाउन कार्य व्यवस्था परामर्श समितिमा प्रस्ताव पनि लगेका थिए । तर, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसदले संसद्को अवरोध खोलेर मात्रै लैजानुपर्ने अडान लिएपछि एमसिसी कार्यसूचीमा परेन ।

प्रधानमन्त्रीका तर्फबाट मन्त्री बडूले कार्य व्यवस्था बैठकमा बुधबार पहिलोपटक एमसिसी संसद्को कार्यसूची बनाउन प्रस्ताव गरेका थिए । तर, माओवादी र एकीकृत समाजवादीले यसमा दलहरूबीच सहमति हुनुपर्ने तथा संसद् खोल्नुपर्ने मत राखेपछि कार्यसूची बन्न सकेको थिएन । यद्यपि, सत्तागठबन्धनका नेताहरू यसबारे सहमति जुटाउन लगातार संवादमा छन् ।

शुक्रबारको कार्य व्यवस्था बैठकमा सुरुमै बोलेका मन्त्री बडूले एमसिसी संसद्मा टेबुल गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेका थिए । ‘एमसिसीलाई सदनको विषय बनाउन सरकारको आग्रह छ । सरकार प्रस्ताव अघि बढाउन चाहन्छ, अब अघि बढाऊँ,’ उनको भनाइ थियो । मन्त्री बनेपछि कार्य व्यवस्था बैठकमा आउनै छाडेका तत्कालीन मुख्य सचेतक बालकृष्ण खाण पछिल्ला दुईवटै बैठकमा उपस्थित छन् । दुवै बैठकमा उनले पनि एमसिसी अघि बढाउन सभामुख सापकोटासँग आग्रह गरेका छन् ।

कांग्रेस सचेतक पुष्पा भुसालले एमसिसी टेबुल गर्न सभामुखसँग आग्रह गर्नुका साथै सदन अवरुद्ध गरेकोमा प्रतिपक्ष एमालेप्रति आक्रोश पोखिन् । ‘आफ्नो सरकारको पालामा अघि बढाऊँ भन्ने, अहिले निर्णय गर्ने वेलामा चुप बस्ने ?’ उनले भनिन्, ‘प्रतिपक्षले जिम्मेवारी भुल्यो । गैरजिम्मेवार बन्यो । कार्य व्यवस्थामा समेत आउँदैन । सदन सुचारु हुनुपर्छ । सधैँभरि सदन बन्द गर्न सकिँदैन ।’यो समाचार नयाँ पत्रिकामा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया