काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासीन दलहरूले एमसीसीलाई ठगी खाने भाँडो बनाएको आरोप लगाउनुभएको छ । सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले ५ वर्षअघि अहिले सरकारमा बस्नेले नै एमसीसी सम्झौता गरेको तर अहिले संसद्मा पुर्याउनुको साटो बाहिर बुरुकबुरुक उफ्रने गरेको टिप्पणी गर्नुभयो ।
उहाँले एमसीसीको सम्झौतापछि चुनावबाट एमालेको सरकार बनेको बेलामा एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौं भनेर अहिलेका सत्ता गठबन्धन दलहरूले पारित गर्न नदिई पर सार्दै गएको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले सरकारमा रहँदा संसद्मा एमसीसी पेस गरौं भनेका थियौं, संसद्ले नै निर्णय गर्छ, संसद्मा हामीले छानेर पठाएका जनप्रनिधिहरूले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पुर्याइदिऔं भन्दा उनीहरूले संसद्मा पुर्याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पुर्याउन सकेका छैनन्, बाहिर बुरुक्क–बुरुक्क उफ्रिन्छन् । संसद्मा नपुर्याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ?’
ओलीले सरकारले एमसीसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध नै बिग्रिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘एमसीसी विवादका कारण ठूला शक्ति राष्ट्रहरू नेपाल खेल मैदान हुने गरी भनाभनमा उत्रिन थालेका छन् । देश ठूला राष्ट्रको मसल लडाउने ठाउँ हुन थाले पनि सरकार भने सजक छैन ।’-नेपाल समाचारपत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया