असार २३, २०८२ सोमबार July 7, 2025

चुनावको मुखमा पार्टी फेर्दै स्थानीय तहका जनप्रतिनिधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय चुनावको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलका नेताहरू पार्टी फेरबदलमा लागेका छन् । चुनावमा टिकट हात पार्न र सम्भावित जित निकाल्न उनीहरूले पार्टी परिवर्तन गर्ने गरेका हुन् ।

रूपन्देहीका १६ स्थानीय तहमध्ये चार स्थानीय तहका प्रमुखले चुनावको मुखमा पार्टी परिवर्तन गरेका छन् । एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्षले पार्टी बदलेका हुन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखसहित रोहिणी, ओमसतिया र सम्मरीमाई गाउँपालिका अध्यक्षले आफू आवद्ध पार्टी परित्याग गरी अर्को दलमा आवद्ध भएका हुन् ।

पार्टी फेरेका चारैजनाले फेरि पनि नयाँ पार्टीबाट स्थानीय तहमा उम्मेदवारी दिने योजना बनाएका छन् । ३ फागुनमा रूपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट एमाले प्रवेश गरे । अघिल्लो चुनावमा यादव संघीय समाजवादी फोरम र केवट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । नेकपा विभाजनपछि पनि केवट माओवादी केन्द्रमै सक्रिय थिए । उनीसँगै माओवादी केन्द्रबाट निर्वाचित ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतिकुमारी हरिजन पनि एमालेमा प्रवेश गरिन् ।

माओवादी केन्द्र ओमसतियाका अध्यक्ष गोविन्द केवट र माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय पनि चुनाव नजिकिँदै गर्दा एमाले प्रवेश गरे । पार्टीले दिने जिम्मेवारीको सुनिश्चिततासहित एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माले बृहत् कार्यक्रममार्फत उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

रोहिणी गाउँपालिका अध्यक्ष यादवले मधेसी दलमा विचलन आएको र काममा सहयोग नभएकाले एमाले रोजेको बताए । ‘मधेसी दलमा सत्ता र स्वार्थ निकै बढ्यो । आफूहरू मन्त्री हुँदा पनि स्थानीय तहलाई हेरेनन् । रोहिणीका कुनै योजना कार्यान्वयनमा सघाएनन्,’ उनले भने, ‘त्यसैले एमाले रोजेको हुँ ।’ आफूसँगै तीन सय बढी कार्यकर्ताले दल परिवर्तन गरेको उनको दाबी थियो । उनका सहोदर दाजु प्रमोद यादव संघीय सांसद छन् । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

स्वतन्त्रबाट चुनाव जितेका लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी जसपामा प्रवेश गरेका छन् । स्वतन्त्र व्यक्तिले सधैं चुनाव जित्न र जनमत सिर्जना गर्न नसक्ने भएकाले पार्टी रोजेको उनले बताए । यद्यपि, जसपा रोज्नुअघि उनको नेपाली कांग्रेससँग पनि कुराकानी चलेको थियो । प्रदेशसभा सदस्य फकरुद्दिन खान उनीप्रति सकारात्मक नभएपछि उनी जसपातिर लागेको स्रोतको दाबी छ ।

जसपाबाट चुनाव जितेका सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला भने एमाले हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेशसभाको चुनावताका उनी एमालेमा प्रवेश गरेर आफ्नी पत्नीलाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाएका थिए । चुनाव हारेपछि उनले एमाले छोडेको र स्वतन्त्र भएको प्रचार गरे । यसपालि काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट टीका लगाएर उनी माओवादी प्रवेश गरेका हुन् ।

स्थानीय तह प्रमुख चारैजनाले नयाँ पार्टीबाट पुनः उम्मेदवारी दोहो¥याउने गरी लबिइङ गरिरहेका छन् । सम्मरीमाई गाउँपालिका प्रमुख शुक्लाले आफूले अघि सारेका योजना पूरा गराउन पनि पुनः उम्मेदवारी जरुरी रहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार