काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनलाई निरन्तरता दिनका लागि स्थानीय तहको निर्वाचनमा गठबन्धनले जित्नु आवश्यक रहेको बताउनुभएको हो ।
पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएको भन्दै उहाँले गठबन्धन दललाई केही न केही फाइदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि कतिपय ठाउँमा मिलेको छैन । म गठबन्धनका नेताहरूलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।”
दलहरुबीचको एकताबाटै राजसंस्था फाल्न सफल भएको भन्दै उहाँले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई पटकसम्म संसद् विघटन गर्दा प्रतिपक्षी भएर नउभिएको भए देश समाप्त भइसक्थ्यो ।” प्रतिगमनकारी कदमको हामीले विरोध नगरेको भए देश अवनतिको बाटोमा जान सक्ने नेपालले बताउनुभयो । दक्षिणपन्थी गठबन्धनलाई मद्दत पुग्ने र लोकतान्त्रिक गठबन्धनलाई आघात पुग्ने गरी नलाग्न उहाँले आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रेनुलाई पुष्पकमल दाहालको छोरीका रुपमा मात्रै हेर्नुहुन्न, कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।” रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया