श्रावण ६, २०८२ मंगलबार July 22, 2025

वाई-फाई सुरक्षित राख्न जान्नैपर्ने १० उपाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एकपटक तपाईंको घरमा भएको वाई-फाईमा कतिवटा डिभाइस कनेक्ट छन् भन्ने कुरा याद गर्नुहाेस् त । अनि कनेक्ट भएका डिभाइसमा के-कस्ता डेटा भण्डारण भएका होलान् ? ती डिभाइसमा तपाईंको क्रेडिट कार्ड नम्बर, बैङ्किङ विवरण तथा अन्य व्यक्तिगत जानकारी हुनसक्छन् ।

यदि वाई-फाईमा कमजोरी छ भने यस्ता डिभाइस सजिलै ह्याकरको पहुँचमा पुग्नसक्छ । सन् २०२१ मा मात्र वाई-फाईमा देखिएकाे कमजोरीका कारण विश्वभरबाट सात अर्ब डलरभन्दा बढी गुमेकाे थियाे ।

यस्ता घटनामा फिशिङ र स्क्याम बढी रहेका छन् । यदि तपाईंको वाई-फाई सुरक्षित छ भने यस्ता घटनाको जोखिम निकै कम हुन्छ । यति मात्र नभई, यसले तपाईंको वाई-फाई प्रयोग गर्ने अनधिकारिक वा अनावश्यक व्यक्तिबाट पनि बचाउँछ ।

यसले गर्दा तपाईंको वाई-फाई स्लो हुनबाट बच्छ । घरको वाई-फाई सुरक्षित राखेर व्यवस्थापन गर्न निकै सहज हुन्छ । आज हामी वाई-फाई सुरक्षित राख्ने केही १० उपायबारे चर्चा गर्दै छौं ।

राउटरलाई आफ्नो घरको बीच भागमा राख्नुहोस्

वाई-फाईलाई तपाईं कुन ठाउँमा कसरी राख्नुभएको छ भन्ने कुराले पनि यसको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले पनि वाई-फाई सुरक्षित राख्ने स्मार्ट तरिका अपनाउनु आवश्यक हुन्छ ।

यदि मिल्छ भने तपाईंले वाई-फाई राउटरलाई घरको बीच भागमा राख्न सक्नुहुन्छ । राउटरले सबै दिशातिर सिग्नल छाडिरहेको हुन्छ । यदि तपाईंले वाई-पाई घरको बीच भागमा राख्नुभएको छ भने त्यसले सबै ठाउँमा उत्तिकै गतिको इन्टरनेट प्रवाह गरिरहेको हुन्छ ।

वाई-फाईमा बलियाे पासवर्ड राख्ने र समय समयमा परिवर्तन गरिरहनुहाेस्

तपाईंको वाई-फाईका लागि युनिक पासवर्ड राख्नु वाई-फाई सुरक्षाका दृष्टिकोणले निकै उपयुक्त मानिन्छ । वाई-फाईमा मात्र नभई तपाईंले पासवर्ड राख्नुपर्ने हरेक डिभाइस वा अकाउन्टमा कडा पासवर्ड राख्नुपर्छ ।

वाई-फाईको सन्दर्भमा भने तपाईंले अरूले सहजै अनुमान लगाउन नसक्ने किसिमको पासवर्ड राख्नुपर्ने हुन्छ ।

पासवर्ड राख्दा तपाईंले आफ्नो जन्ममिति, आफ्नो निकनेम, फोन नम्बर, वा कसैका नाम राख्ने बानी हटाउनुपर्छ । पासवर्ड राख्दा कुनै पनि व्यक्तिले सहजै अनुमान लगाउन सक्दैन भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।

त्यस्तै तपाईंले जति कडा पासवर्ड राखे पनि न्यूनतम छ महिनामा परिवर्तन गरिरहनुपर्छ । वाई-फाईको मात्र नभई, तपाईंले पासवर्ड राखेका हरेक डिभाइस वा अकाउन्टको पासवर्ड परिवर्तन गरिरहनु पर्छ ।

राउटरको डिफल्ट लगइन डिटेल परिवर्तन गरिरहनुहोस्

कम्पनी अनुसार राउटरको लगइन डिटेल प्रायः उस्तै हुनेगर्छ । त्यसैले तपाईंले आफ्नो वाई-फाईको डिफल्ट लगईन डिटेल परिवर्तन गरिरहन पर्छ । तपाईं सम्बन्धित वाई-फाईको एप प्रयोग गरेर वा आईपी एड्रेसमार्फत लगईन गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले आफ्नो एडमिन नेम र पासवर्ड परिवर्तन गरिरहन आवश्यक हुन्छ ।

फायरवाल र वाई-फाई इन्क्रिप्सन अन गर्नुहोस्

प्रायः धेरैजसो राउटरहरूमा बाहिरी ह्याकिङलाई रोक्न फायरवाल समावेश गरिएको हुन्छ । साथै तपाईंको राउटर र जडान गरिएका डिभाइसबीच पठाइएका डेटामा कसैलाई पनि छिर्नबाट जोगाउन वाई-फाई इन्क्रिप्सन हुन्छ ।

दुवै सामान्यतया डिफल्ट रूपमा सक्रिय हुन्छन् । तर पनि फायरवाल र वाई-फाई इन्क्रिप्सन सक्रिय छन्, छैनन् भन्ने कुरा पहिले नै सुनिश्चित गर्नुपर्ने हुन्छ ।

गेस्ट नेटवर्क बनाउनुहोस्

यदि तपाईंको घरमा वाई-फाई छ । र, त्यहाँ कोही आयो भने नमस्कार गरि सकेपछि वाई-फाईको पासवर्ड मागिहाल्छन् । किनभने अहिलर इन्टरनेट र फोन अत्यावश्यकका वस्तु भएका छन् ।

तपाईंले घरमा आएका जोकोहीलाई मुख्य वाई-फाईको पासवर्ड दिनुअघि त्यसमा हुने जोखिम याद गरि गेस्ट वाई-फाई (छुट्टै वाई-फाई जसलाई केही समयमा नै डिलिट गर्न सकियोस्) को पासवर्ड दिनुपर्ने हुन्छ ।

यसको अर्थ तपाईंले आफ्ना पाहुनालाई घरको मुख्य वाई-फाईको पासवर्ड पाउनासाथ ह्याकिङ हुन्छ भन्ने हुँदैन । उनीहरूले कस्ता फाइल डाउनलोड गर्छन र ती कुराले उनीहरूको व्यक्तिगत विवरण लिन्छन् वा लिँदैनन् भन्ने कुरा महत्त्वपूर्ण हुने गर्छ ।

उनीहरूले भाइरस वा मालवेयर भएका ‌फाइल डाउनलोड गरेका रहेछन् भने त्यसले तपाईंको वाई-फाई नेटवर्कलाई पनि प्रभाव पार्छ । त्यसैले तपाईंले अन्य व्यक्तिलाई गेस्ट वाई-फाई बनाएर त्यसैको पासवर्ड शेयर गर्न सक्नुहुन्छ ।

भीपीएन प्रयोग गर्नुहोस्

राम्रा भीपीएन प्रयोग गर्नुपर्ने धेरै कारण छन् । राम्रो भीपीएनले तपाईंको सुरक्षालाई पनि उत्तिकै मध्यनजर गरेको हुन्छ । भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवर्कले तपाईंको आईपी एड्रेस, र वाई-फाई गतिविधिलाई लुकाउनुका साथसाथै ब्राउजिङ गरेका डेटालाई पनि लुकाउने गर्छ ।

भीपीएन कुनै पनि सार्वजनिक वाई-फाईसँग कनेक्ट भएको बेला निकै उपयोगी हुन्छन् । यसले तपाईंका हरेक डेटालाई सुरक्षित बनाउनुका साथसाथै तपाईंको वाई-फाईको गोपनियतालाई पनि उत्तिकै बचाएको हुन्छ ।

केही भीपीएनका लागि तपाईंले शुल्क तिर्न पर्ने हुन्छ भने केही निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।

राउटर र डिभाइस अपडेट गरिरहनुहोस्

तपाईंले कुनै पनि डिभाइसमा इन्टरनेट कनेक्ट गर्नुभयो भने त्यसमा सफ्टवेयर अपडेटको नोटिफिकेसन देखिरहनु भएको हुन्छ होला । तपाईंले आफ्नो डिभाइसमा आउने सफ्टवेयर अपडेटको नोटिफिकेसन हेरि अपडेट गरिरहनु आवश्यक हुन्छ ।

सफ्टवेयर अपडेट गर्दा पहिले डिभाइसमा भएका समस्याका समाधान हुनुका साथसाथै सुरक्षाका दृष्टिकोणले पनि उत्तिकै आवश्यक हुन्छ ।

राउर र त्यसमा कनेक्ट भएका डिभाइस अपडेट गरिरहनु विभिन्न कारणले महत्त्वपूर्ण मानिन्छ । तपाईंले राउटरलाई एड्मिन सेटिङमा गएर अटो अपडेट अन गर्न सक्नुहुन्छ ।

रिमोट राउटर एक्सेस बन्द गर्नुहोस् ।

रिमोट राउटर एक्सेस अन गर्दा जोकोहीले पनि तपाईंको वाई-फाईमा सहजै पहुँच पाउँछन् । अत्यावश्यक अवस्थामा रिमोट एक्सेस अफ गर्न सक्नुहुन्छ । रिमोट राउटर एक्सेस डिफल्ट रूपमा डिसेबल नभएको हुन सक्छ । त्यसैले पनि तपाईंले रिमोट एक्सेस अफ छ वा छैन भन्ने कुरा सुनिश्चित गर्न पर्ने हुन्छ ।

कनेक्ट भएका डिभाइस भेरिफाई गरिरहनुहोस्

तपाईंको वाई-फाई नेटवर्कमा जडान भएका डिभाइसलाई बेला बेलामा निरीक्षण गरिरहनु पर्छ । यदि कुनै पनि डिभाइसमा भाइरस देखियो वा त्यसले वाई-फाईलाई प्रभावित पार्ने केही पत्ता लागेको खण्डमा त्यसलाई वाई-फाईबाट डिस्कनेक्ट गरेर आफ्नो वाई-फाईको पासवर्ड परिवर्तन गर्नुहोस् ।

तपाईंले पासवर्ड परिवर्तन गरिसकेपछि पहिले कनेक्ट भएका डिभाइसमा पुनः पासवर्ड प्रयोग गरी कनेक्ट गर्नु पर्ने हुन्छ । यसो गर्दा तपाईंको वाई-फाईमा अनाधिकारिक रूपमा कनेक्ट भएका डिभाइस स्वतः हट्छन् । यसले सुरक्षाका दृष्टिकोणमा निकै टेवा पुर्‍याउँछ ।

तपाईंको वाई-फाई नेटवर्कमा कुन कुन डिभाइस कनेक्ट भएका छन् भन्ने कुरा तपाईंले वाई-फाईको सेटिङमा गएर हेर्न सक्नुहुन्छ । यदि त्यसमा कुनै पनि अन्जान डिभाइस कनेक्ट भएका छन् भने त्यस्ता डिभाइसलाई तुरुन्तै डिस्कनेक्ट गरिहाल्नुहोस् ।

डब्लूपीए थ्री राउटरमा अपग्रेड गर्नुहोस्

डब्लूपीए थ्री (WPA3) हालसालै आएको राउटरको सेक्युरिटी प्रोटोकल हो । अहिले आउने प्रायः राउटरहरूमा डब्लूपीए थ्री जोडिएरै आइका हुन्छन् । यदि तपाईं नयाँ राउटर लिँदै हुनुहुन्छ भने त्यसमा डब्लूपीए थ्री भएको सुनिश्चित गरेर  किन्नुहोस् ।

यदि तपाईंसँग पुरानो राउटर छ जहाँ डब्लूपीए टु वा त्यसभन्दा कमको सेक्युरिटी प्रोटोकल छ भने तपाईंले त्यसलाई डब्लूपीए थ्रीमा अपग्रेड गर्न सक्नुहुन्छ ।

यदि तपाईंको राउटर २०१८ भन्दा अघि बनेको हो भने त्यसमा डब्लूपीए टु डिभाइस हुनसक्छ, जसलाई नयाँ डब्लूपीए थ्रीमा अपग्रेड गर्न सकिन्छ । तपाईंले आफ्नो सेवा प्रदायकलाई सम्पर्क गरेर वा ब्राउजरमा डिभाइस मोडल खोजेर आफ्नो राउटरको मोडल थाहा पाउन सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार