तपाईहरूको पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग हिमचिम बढिरहेको छ, के सरकारमा जाने तयारी हो तपाइहरूको ?
सरकारमा सहभागी हुने विषयमा होइन, हामीले हामीसँग भएका सहमति कार्यान्वयन र नागरिकका समस्या समाधानका लागि प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरूसँग कुराकानी गरिरहेका छौँ ।
सरकारका प्रमुख प्रधानमन्त्रीलाई हाम्रा माग पूरा गर्न आग्रह गर्ने, दबाब दिने काम गरिरहेका छौँ । सरकार बन्दा हामीसँग समर्थन मागिएको थियो, त्यसैले हामीले मुख्यतः नागरिकता सम्बन्धी अध्यादेश थियो, त्यसलाई संसदमा विधेयकका रूपमा ल्याउनुपर्छ भनेका थियौं ।
प्रधानमन्त्रीले ल्याउँछु भन्नुभएको थियो । त्यो विधेयक संसद्मा आएको छ । मधेश आन्दोलनका बेला १३९ जनालाई लागेको झुटा मुद्दाहरू फिर्ता गर्नु पर्ने लगायत माग पनि थियो । यतिका दिन भइसक्यो सम्बोधन भएको छैन । त्यसबारे पनि हामीले प्रधानमन्त्रीलाई घच्घच्याइ रहेका छौँ ।
अब सरकारले पूरा गर्नुपर्ने तपाईहरूका के–के माग बाँकी छन् ?
संसद र सरकारसँग हामीले राखेका महत्वपूर्ण माग पूरा हुन सकेका छैनन् । नेपाली जनता अधिकार र पहिचानका लागि संघर्ष गरिरहेका छन् । सरकार, संसद, नियम कानुन, संविधान के को लागि ?
संविधानबाट जनताले उपलब्धि पाए कि पाएनन् ? अहिले हामी सबै मिलेर इमानदारीसँग छलफल गर्नुपर्ने हो । जुन जनताका लागि संविधान बनाइन्छ, त्यही जनताको अधिकार खोसिएको छ । नेपालका जनतालाई किन अहिले पनि अधिकार र पहिचानका लागि लडेर गोली खानुपर्ने ?
तपाईहरू पनि माग राखिरहने, केही एउटा विषयमा आश्वासन पाएमा मख्ख भएर सरकारमा गइहाल्नुहुन्छ, त्यसरी कसरी हुन्छन् त सबै माग पूरा ?
हामी लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक प्रक्रियाबाट हिंड्छौं । हामीले अहिलेसम्म अधिकार, पहिचान र समृद्धिका कुरा गरिरहेका छौँ । हामी सडक, संसद्मा त्यही कुरा उठाउँछौँ ।
सरकारमा सहभागी गए पनि त्यही कुरा उठाउँछौ । हामीले मात्रै कुरा उठाएर पुगेन । हाम्रो शक्ति सानो छ, हाम्रो दबावले पुगेन । त्यसैले जनतालाई केन्द्रमा राखेर सबैले साझा हिसाबले हामी अगाडि बढिरहेका छौँ, बढ्छौँ पनि ।
शासन परिवर्तन भए पनि जनता त्यहीं छन् । संविधान ७÷७ वटा बनाइसक्दा पनि जनताले अधिकार पाउन सकेका छैनन् । संविधान र शासन पटक–पटक फेर्दा व्यवहार परिवर्तन हुन सकेको छैन ।
नेपाल सबै नेपालीका लागि बन्नै सकेन । नेपाल त पृथ्वीनारायण शाहले एकता गर्ने बेलामा साझा फूलबारी बनाउने भनेका थिए, हामीले साझा फूलबारी नै बनाएनौं ।
तपाइहरू बाहिर हुँदा मात्रै यो विषय उठाउनुहुन्छ, सरकारमा गएपछि यो विषयमा विचार मन्थन गरेको देखिन्न ?
सरकारमा हामी हिजो पनि गएका थियौँ । भोलि फेरि जान्छौं । समय आयो भने सरकारमा जाने हो । यो नर्मल कामहरू भइरहेको हो, भइरहन्छ । तर, यसले देश चल्दैन । देशको जुन समस्या हो, त्यसमा छलफल गर्नुपर्छ । त्यो विषय हामीले उठाए पनि सुनिदैन ।
अहिले तपाईहरूले गरिरहेको छलफल पनि सरकारमा जानका लागि गरिएको छलफल भन्ने बाहिर चर्चा परिचर्चा छ, खास के का लागि छलफल गर्नुभएको हो, प्रष्ट भनिदिनुस् न ?
मैले पहिल्यै भनिसके, हामी हाम्रा माग पूरा गराउनका लागि सरकारका रहेकाहरूसँग निरन्तर छलफलमा छौँ । नेपाल सबै नेपालीको लागि बन्न सकिरहेको छैन, बन्नुपर्छ भन्ने हाम्रो माग हो, हामी त्यही माग लिएर दलहरूसँग कुराकानी गरिरहेका छौँ ।
शासकले नश्लवादी चिन्तन, सोच बोकेका छन्, उनीहरूले मधेशको समस्यालाई देशको समस्या मानेनन् । हामीमाथि त फुटाउ र शासन गरको रणनीति अपनाइयो । बहुराष्ट्र राज्यका लागि देशमा राष्ट्रिय मुक्तिको क्रान्ति गर्नुपर्छ । हिमाल, पहाड, मधेशका सबै परिवर्तनकामी शक्ति मिलेर आन्दोलन गर्नुपर्छ ।
पार्टी विभाजनको कुरा निकाल्नु भयो, अरुले फुटाइदिएका कि तपाइहरू आफै फुट्नु भएको ?
फुटाउने–जुटाउने, फुट्ने–जुट्ने, सरकारमा आउने–छोड्ने धन्दा त बहुदलीय कालमा पनि भएकै हो । गणतान्त्रिक कालमा पनि भइरहेकै छ । यो प्रकारको चिन्तन, सोच रहेसम्म यो धन्दा त भइरहन्छ नि ! पार्टी भित्रको कारण भन्दा बाहिरी कारण बढीले हाम्रो पार्टी विभाजन भएको हो ।
यहाँहरूले सबैभन्दा बढी उठाएको नागरिकतासम्बन्धी विषय हो, त्यसबारे अहिले के भइरहेको छ । संसद्मा पेस भएको नागरिकता विधेयक बारे तपाईहरुको धारणा के हो ?
धर्ती नेपालको, त्यो धर्तीमा जन्मने चाहिं विदेशी हुने हुन्छ ? नेपाली नागरिक आमाबुवाका लाखौं सन्तानले नागरिकता पाउनुपर्छ भनेर वर्षौंदेखि आवाज उठेको उठ्यै छ । सरकारले बनाइ दिएन ।
हामीले सुरुदेखि नै भनेको भन्यै छौं । तर अहिलेसम्म पनि बनेको छैन । संसद्मा विधेयक पेस भएको छ, त्यसमा हामीले धारणा राख्नेक्रममा पक्षमा भएको धारणा राखिसकेका छौँ ।
नागरिकता समस्या देशमा होइन, मानसिकताको समस्या हो । नश्लवादी शासकको मानसिकताको समस्या हो । मधेशमा बस्ने जनता नेपाली हो भन्ने मानसिकता नबनाउँदाखेरि समस्या आएको हो । गैरजिम्मेवारपनको पराकाष्ठा हो ।
नागरिकतालाई बार्गेनिङ टुलका रूपमा प्रयोग गरेको आरोप पनि तपाईहरूमाथि लागिरहन्छ नी ?
समस्या उठाउनु बार्गेनिङ टुल होइन, नालायक शासकहरूले त्यसरी अथ्र्याएका मात्र हुन् । दबाब भएपछि मात्रै काम गर्ने सरकारको चरित्र भएका कारणले त्यसो भएको हो ।
सरकारले स्वतः गर्नुपर्ने काममा पनि जनताले आवाज उठाउनुपर्ने एकले अर्कालाई औंला उठाउने, राष्ट्रवादको परिभाषा पनि गलत ढंगले गर्ने, धोती लगाएको छ भने शंका गरिहाल्ने, टोपी लगाएको छ भने ऊ पक्का नेपाली भइहाल्ने । अभियान टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया