असार ३०, २०८२ सोमबार July 14, 2025

प्राविधिक शिक्षा आजको आवश्यकता : अध्यक्ष यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको बताएका छन् । मधेश विश्व विद्यालय स्थापना उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले अहिलेको वैज्ञानिक युगमा प्राविधिक शिक्षाको बढी माग रहेकोले सामान्य शिक्षा भन्दा पनि आजको शिक्षाको आवश्यक्तालाई मध्यनजर गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।

यस विश्व विद्यालयबाट उत्पादन भएको विद्यार्थीहरु कहिँ पनि भौतारिनुपर्ने अवस्था नरहोस् भन्ने खालको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ थियो । विकसित मुलुकहरुमा काम गर्न जाँदा डिग्री भन्दा पनि कुन काम सक्ने क्षमता बढी अर्थ राख्ने गरेकोले यहाँका शिक्षालाई पनि डिग्री भन्दा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने विश्वविद्यालयको रुपमा स्थापित गर्नुपर्ने बताए ।

यस मुलुकमा सरकारले सञ्चालन गरेको सरकारी स्कुल, कलेजहरुको हालत के छ ? समय अनुसार परिवर्तन हुन सक्यो कि सकेन ? भन्ने अनुगमन गर्ने हो भने यहाँको स्कुलहरुमा अहिले आधारभुत शिक्षाहरु ध्वस्त भइसकेका छन्, सरकारी विद्यालयह बर्बाद भइसकेका छन्, यहाँबाट उत्पादित बालबालिकाहरुसँग डिग्री ठूलो तर काम गर्न सक्ने केही छैन भन्दै यादवले हाम्रो मुलुकमा सबैभन्दा कमजोर शिक्षा क्षेत्र नै रहेकोले यो मुलुकको भविष्य के हुने हो भन्ने सहजै अनुमान लगाउन सकिने बताए ।

कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले धेरै चुनौतिकाबीच वीरगंजमा मधेश विश्वविद्यालयको स्थापना भएको बताए । उनले भनेका छन्, ‘मधेश विश्वविद्यालय स्थापना हुनु आफैमा चुनौती थियो, यहाँ विश्व विद्यालय हुनुपर्छ भनेर हामी देशका ठूलठूला राष्ट्रिय नेताहरुको चौकठमा गएर गुहारेका छौं । तर कसैले सुनेन । मधेश आन्दोलनको अगुवाई गर्ने उपेन्द्र यादवले यसको पहल गरे, जसको परिणाम अहिले वीरगंजले विश्व विद्यालय पायो ।’

उनले थपे, ‘त्यस्तै भोलिका दिनमा यसलाई कसरी सञ्चालनमा ल्याउने, हामीसँग आफ्नो जग्गा छैन, यस्ता धेरै चुनौतीहरु छन्, तर मधेश सरकारले एउटा असर व्यक्तिलाई जिम्मेवारी दिएको छ । मलाई विश्वास छ, उहाँको देनले यो सबै समस्याको समाधान हुनेछ ।’

वीरगञ्जमा बनेका नारायणी रंगशाला, नारायणी अस्प्ताल, ठाकुरराम बहुमुखी क्याम्पस लगायत विभिन्न संस्थाहरु यहाँको जनताको सहयोगले बनेको र मधेश विश्वविद्यालय पनि यहाँको जनताको सहयोगले नै स्थापित हुने उनले विश्वास व्यक्त गरे ।

गुठी सँस्थानको जग्गा धेरै छ, तर त्यहाँ माफियाहरुको रजगज छ, वनको पनि धेरै जग्गा छ तर त्यो पनि माफियाहरुको चँगुलमा छ, हामी विश्व विद्यालय स्थापनाको लागि जग्गाको व्यवस्थामा छौं भन्दै उनले उपकुलपतिको योगदान र यहाँको नागरिकहरुको सहयोगले पक्कै यो विश्वविद्यालय स्थापित हुने बताए ।

यहाँ ठेक्का नपाएपछि मुद्दा दिने ठेकेदारहरुको प्रचलन नै बढेको छ, आफूलाई ठेक्का नपाएपछि मुद्दा हालिदिने जस्ता कामले गर्दा विकास निर्माणका कामहरु ठप्प भएका छन् तर यहाँ उपस्थिति विद्वान व्यक्तित्वहरुको सहकार्यमा अगाडि बढ्यो भने पक्कै मधेश विश्व विद्यालय अन्य विश्व विद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

नेपाल भन्दा ६० हजारको करिबमा विद्यार्थीहरु अध्ययनको लागि विदेश गइरहेका अवस्थामा हामीले नै तिनीहरुलाई गुणस्तरीय शिक्षा दिन सके विद्यार्थीहरुलाई रोक्न सकिनेतर्फ प्रदेश सकारको ध्यानाकर्षण हुन जरुरी रहेको उनले बताए । उनले भने, ‘यहाँ हामी मेडिकल कलेजको स्थापना गर्न सकि रहेका छैनौं, मेडिकल शिक्षा अध्ययनको लागि यहाँका विद्यार्थीहरु बाहिर जाने गरेकोले यहाँ त्यस्ता गुणस्तरीय शिक्षा दिन सक्ने वातावरण बनाउन आवश्यक छ ।’

यसरी नै कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री एवं मधेश विश्वविद्यालयका कुलपति लालबाबु राउत गद्दीले वीरगंज विश्व विद्यालयको स्थापना २५ वर्षको सपना पूरा भएको बताए । उनले २०५४ सालदेखि नै वीरगञ्जमा विश्वविद्यालयको स्थापना हुनुपर्छ भनेर विभिन्न पक्षबाट संघर्ष हुँदै आएको भएता पनि राजनीतिक पहुँच पुग्न नसकेको कारण स्थापना हुन नसकेको भन्दै हाल आएर २५ वर्षको संघर्षको सपना पूरा भएको बताए ।

उनले भनेका छन्, ‘वीरगञ्ज विश्व विद्यालय स्थापनाको लागि तत्कालीन अवस्थामा हरिखेतान बहुमुखी क्याम्पसका प्रधानाध्यापक डा. भगवान यादव लगायत विभिन्न राजनीतिक दलका स्तरबाट प्रयास नगरिएको होइन, तर त्यो कुरा सुनिएन, त्यसको वास्ता गरिएन । यहाँको जनताको चाहना छ, शिक्षाको अवस्थाको सुधार होस्, सायद त्यसैले पर्साका तत्कालीन गाविस देखि उद्योगी व्यवसायीहरुले सहयोग गरेका थिए तर त्यो जस्ताको त्यस्तै रह्यो । त्यत्रो ठूलो संघर्षपछि हाल आएर त्यो सपना पुरा भएको छ ।’

उनले यस प्रदेश प्राविधिक शिक्षाको हब बन्नुपर्ने बताए । उनले भनेका छन्, ‘यहाँका लाखौं युवाहरु सीप विना नै विदेशिने क्रम पनि बढ्दो छ । यहाँ हामी विभिन्न किसिमका प्राविधिक शिक्षा दिन सक्यौ भने यहाँको शिक्षाको अवस्थामा सुधार आउने थियो । आजको वैज्ञानिक युगको माग अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको रुपमा स्थापित हुनेछ ।’

मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वाञ्चल युनिभरसिटिका पूर्व उपकुलपति डा. रामअवतार यादव, पश्चिमाञ्चल युनिभरसिटिका पूर्व उपकुलपति उपेन्द्र कोइराला, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतले आआफ्नो शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मधेश विश्व विद्यालयमा उपकुलपतिमा नव नियुक्ति प्राध्यापक डा. दीपक शाक्यलाई मुख्यमन्त्री लालबाबु राउत गद्दीले नियुक्ति पत्र समेत प्रदान गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार