काठमाण्डौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाइ बहुमत आउने दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले आज बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उहाँले दुई तिहाइ बहुमत ल्याउनैका लागि गठबन्धन भएको बताउनुभयो ।
संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उहाँको भनाइ थियो । “नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो”, वरिष्ठ नेता पौडेलले बताउनुभयो । उहाँले कार्यकर्तालाई अधिनायकवाद विरुद्ध लड्न गाउँ–गाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानीले प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने खेलका विरुद्ध सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा (.माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा तनहुँ क्षेत्र नं १ को ‘ख’ का उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनले जनताको अधिकार रक्षा गर्न सकेको उल्लेख गर्दै गठबन्धनकै नेतृत्वमा पुनः सरकार बनाउन चुनावी तालमेल गर्नुपरेको बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया