काठमाण्डौंः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने चाहना पुरा नहुने बताएका छन् ।
शनिबार एमाले प्युठान–काठमाण्डु सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डले प्रधानमन्त्री बन्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने बताएका हुन् । प्रचण्डले निर्णय गर्न धेरै ढिलो गरेको ओलीको भनाइ छ ।
‘कतिपय जो इच्छा गरिरहेका छन । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले निर्णय गर्न ढिलो गर्नुभयो । संस्कृतिमा एउटा भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । अव उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन ।’, उनले भने ।
पछिल्लो समय प्रचण्ड पहिलो चरणमा प्रधानमन्त्री बन्न लागिपरेका छन् । उनले यसका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई आग्रह गरिरहेका छन् । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उनलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन सहमत देखिएका छैनन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया