काठमाण्डौंः जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ । मध्यपुर थिमि नगरपालिका–४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
हिँडडुल गर्न, बस्न र बोल्न नसक्ने सुप्रिया अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्माले आफैँ घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो । अशक्तहरूलाई घरदैलोमा नै सेवा उपलब्ध गराउने सरकारी नीतिअनुरूप सुप्रियालाई घरमै पुगेर नागरिकता प्रदान गरेको प्रजिअ शर्माले बताउनुभयो ।
नागरिकता प्रदान गर्न प्रजिअ शर्मासँगै सहायक प्रजिअ माधवप्रसाद शर्मा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रशासकीय अधिकृत उर्मिला खतिवडा, नागरिकता फाँटका नायब सुब्बा विमल काफ्लेको टोली सुप्रियाको घर पुग्नुभएको थियो । सो अवसरमा नगर प्रमुख श्रेष्ठले प्रशासनको कार्यको प्रशंसा गर्दै जनतालाई सहज र सरल रुपमा सेवा सुविधा उपलब्ध गराउन नगरपालिका पनि प्रतिबद्ध रहेको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया