कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

काठमाण्डौं महानगरको संशोधन बजेट पारित

दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै कामपको १२ औँ अधिवेशन सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः काठमाडौँ महानगरपालिकाको नगरसभाको १२ औँ अधिवेशन रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै सकिएको छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आज बसेको बैठक संशोधन बजेट पारित गर्दै सकिएको हो ।

कामपाको उपप्रमुख सुनिता डङ्गोलले अधिवेशनको पहिलो बैठकमा संशोधन बजेट प्रस्ताव पेश गरेकी थिइन् । गत ११ औँ नगरसभाबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये रु चार अर्ब ३६ करोड ७१ लख सात हजार बजेटका कार्यक्रमलाई संशोधनका लागि प्रस्ताव गरिएको थियो ।

प्रस्ताव गरिएका संशोधन बजेटमध्ये छलफलबाट करिब तीन अर्ब मात्र पारित भएको हो । आजको बैठकमा विभिन्न छ कार्य सूची रहेको थियो । आज भएको दोस्रो बैठकबाट सभाबाट आर्थिक ऐन २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, कर्मचारी सेवा ऐन २०७७ संशोधन गर्न बनेका विधेयक पारित भएको छ । त्यसैगरी सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७९ पनि पारित भएको छ । सभाले जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक २०७९ पारित गरेको छ ।

काठमाडौँ महानगरपालिका, नगरसभाको १२ औँ अधिवेशनका केही झलकहरु – काठमाडौँ  महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वाग्मती प्रदेश

यससँगै कृषि तथा पशुपंक्षी विभाग गठन भएको छ । यसअघि जनस्वास्थ्य विभागमा रहेको खाद्य गुणस्तर तथा पशुपंक्षी महाशाखा तथा अन्तर्गतका शाखा र वातावरण व्यवस्थापन विभागसँग रहेको कृषि महाशाखालाई जोडेर विभाग गठन गरिएको हो । कानुन तथा मानवअधिकार विभाग मातहतमा रहेको मिसिल शाखालाई सहरी व्यवस्थापन विभागअन्तर्गत लगिएको छ । यससम्बन्धी प्रस्ताव नगरसभाअन्तर्गत सुशासन समितिका संयोजक सिर्जना भेटवालले प्रस्तुत गरेका थिए ।

कामपाको सङ्गठन र दरबन्दी संरचना पुनरावलोकनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी दिइएको छ । यससम्बन्धी अध्ययनलाई कार्य पालिकामा लगिनेछ । निर्देशित जग्गा विकास कार्यक्रम, यसको मापदण्ड र मापदण्ड कार्यान्वयनका विषयबारे नगरसभा सदस्यले चर्चा गरेका थिए ।

त्यस क्रममा वडाध्यक्ष रामकुमार केसी, चिनीकाजी महर्जन, योगेश खड्गी लगायतले वडा नं। ३१ म निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत सडकमा परेको भवन संरचनामाथि गरिएको कारबाहीका विषयमा कामपा प्रमुखसँग कारण माग गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया