वैशाख २५, २०८१ मंगलबार May 7, 2024

कालिकोटका सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान

छात्राहरुलाई विद्यालयमा नियमित गराउने उद्देश्यका साथ छात्रा शैक्षिक सुधार योजना अन्तरर्गत भेन्डिङ्ग मेसिन जडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाभित्रका सात वटा माद्यामिक विद्यालयमा सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको छ । छात्राहरुलाई विद्यालयमा नियमित गराउने उद्देश्यका साथ छात्रा शैक्षिक सुधार योजना अन्तरर्गत भेन्डिङ्ग मेसिन जडान गरिएको हो । महिनावारी भएको समयमा विद्यालयमा नआउने, विद्यालयमा आएपनि लजाउने, महिनावारीको समयमा विद्यालय बढी छाड्ने समस्यालाई समाधान गर्नको लागि भेन्डिङ्ग मेसिन जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमा महिला तथा किशोरीहरुको समस्या पहिचान गरेर मेसिन जडानको कार्यक्रमलाई विद्यालय स्तरमा लिएर कार्यान्वयन गर्नतर्फ लागेको गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीले बताइन् । गाउँपालिकामा सामाजिक कुसंस्कारको रुपमा रहेको महिनावारी अहिलेसम्म पनि अन्त्य हुन नसकेकोमा दुखेसो व्यक्त गर्दै उनले आफ्नो पाँच वर्षे कार्यकालमा त्यस प्रकारका कुसंस्कार अन्त्यका लागि प्रयासरत रहने बताइन् ।

आइतबार शुभकालिका गाउँपालिका वडा नम्बर ३ मा रहेको जनज्योति माद्यामिक विद्यालयमा सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गर्न पुगेकी उपाध्यक्ष शाहीले कर्णाली तथा कालीकोटमा बढी भाग किशोरीहरुले विद्यालय बिचैमा छोड्नुको एक प्रमुख कारण पनि महिनावारी रहेको बताइन् । महिनावारीका बेलामा किताव छोए पाप लाग्छ, विद्यालय जानु हुँदैन भन्ने विषयलाई निमूल पार्नका लागि सभ्य समाजको पहिचान तथा सुरक्षित महिनावारीमा सम्बन्धित सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जिल्ला एउटा उदाहरणीय कार्य शुभकालिका गाउँपालिकामा उपाध्यक्षको पहलमा भएकाले उपाध्यक्ष तथा गाउँपालिकालाई धन्यवाद दिए । उपाध्यक्षको कोसेली स्वरुप विद्यालयमा प्राप्त भएको मेसिनलाई सहि तरिकाले प्रयोग गर्न विद्यालयलाई निर्देशन दिँदै केही विद्यालयहरु विद्यालय जस्तो नदेखिएकोमा आफू चिन्तीत रहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी शार्माले कालीकोट जस्तो विकट ठाउँमा मेसिन जडानले विद्यालयमा छात्रा दर बढाउने र विद्यालयमा छात्राहरुको नियमित उपस्थिति हुनेमा ढुक्क रहेको बताए ।

कार्यक्रममा कालीकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले महिनावारी बारेको वा महिनावारी भएको बेलामा कसैले विभेद गरेको वा गराएको पाइएमा कानूनअनुसार कारबाही गर्ने चेतावनी दिए । जिल्लामा बालविवाह हुनेक्रम नरोकिएकाले त्यसलाई रोक्न आफू र प्रहरी संगठन लागि परेकाले सरोकारवाला सबैको साथको अपेक्षा रहेको उनको भनाइ थियो ।

जिल्ला शिक्षा विकास तथा समन्वय कालीकोटका प्रमुख प्रकाश चन्द्र धितालले गुणस्तरीय शिक्षाका लागि शिक्षक तथा अभिभावकले विशेष जोड दिनुपर्ने बताए । प्रमुख धितालले शिक्षा जस्तो क्षेत्रमा कुनै पनि योजना बिना काम गर्न खोजे स्थानीय तहमा शिक्षा क्षेत्र गन्तव्यविहीन हुने उनको भनाइ थियो ।

सही गन्तव्यमा पुग्न पहिला योजना आश्वक पर्ने र विद्यालयमा राजनीतिक करण गर्न पनि नहुने उनकोे भनले बताए । उनले सेनेटरी भेन्डिङ्ग मेसिन जडानले छात्रालाई विद्यालय नियमित आउन सहयोग गर्ने भएकाले आफू हर्सित भएको बताउँदै कामको थालनी गर्ने उपाध्यक्ष लगायत शुभकालिका गाउँपालिका परिवारलाई धन्यवाद दिए ।

गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी कार्यालय कालीकोटका प्रमुख मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धाका अनुसन्धान अधिकृत राम अचल शाह, वडा नम्बर ५ का अध्यक्ष मिम बहादुर शाही, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, जिल्लास्थित पत्रकारलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया