बैसाख ५, २०८३ शनिबार April 18, 2026

४५ लाख रुपैयाँ बराबरको जग्गादान

१३ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण अगाडि बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाताले उपलब्ध गराएको जग्गामा शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ। १३ करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको हो।

शुक्लाफाँटा–९ वडाध्यक्ष रमेश ऐरका अनुसार पहिलो वर्ष खानेपानी आयोजनाको पर्खाल निर्माण गर्न र बोरिङ गाड्नका लागि १८–१८ लाख गरी ३६ लाख रुपैयाँ बजेटमा कार्य गरिएको छ। ‘पाँच वर्षभित्रै निर्माण पूरा हुने खानेपानी आयोजनाबाट छ सय ८० परिवारको घरमा शुद्ध पेयजल पुर्‍याउने लक्ष्यसहित कार्य गरिरहेका छौँ’, उनले भने, ‘पर्खाल निर्माण र बोरिङ गाड्ने कार्य पूरा भइसकेकाले ट्याङ्की निर्माणको काम सुरु गर्छौँ।’

साठी हजार लिटरको खानेपानीको आधुनिक तरिकाले ट्याङ्की निर्माण हुने उनको भनाइ छ। खानेपानी आयोजनाको कार्य गुणस्तरीयरूपमा गर्नका लागि कटिबद्ध रहेको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर ऐरले बताए।

‘ट्याङ्की निर्माणका लागि आवश्यक बजेट माग गर्छौँ’, उनले भने, ‘त्यसपछि पाइप लाइनको कार्य अगाडि बढाउँछौँ, पाइप लाइनको कार्य सकिएसँगै धारा जडानकार्य हुन्छ।’ उपभोक्ताको घर–घरमा र सार्वजनिक ठाउँमा धारा जडानकार्य हुने उनले बताए। शुद्ध पेयजलको व्यवस्था नहुँदा वडाका बासिन्दाले हेण्डमम्पको असुरक्षित खानेपानी प्रयोग गर्दै आएका छन्।

धेरै उपभोक्ताको हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायतको समस्या रहेको छ। ‘खानेपानीका लागि पहिला कुवाको प्रयोग हुन्थ्यो’, स्थानीय कर्णबहादुर ऐरले भने, ‘त्यसपछि हेण्डपम्पको प्रयोग हुन थालेको हो, हेण्डपम्पको पानी सुरक्षित नभए पनि बाध्य भएर पिउँदै आएका छौँ।’ खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढेसँगै शुद्ध पेयजल पिउन पाउनेमा ढुक्क भएको उनले बताए।

आयोजना निर्माण हुन थालेपछि निकै खुसी भएको उनको भनाइ छ। खानेपानी आयोजना निर्माणका लागि स्थानीय डम्बरबहादुर ऐर, तीर्थबहादुर ऐर र सुनादेवी ऐरले तीन कठ्ठा जग्गा दान गर्नुभएको छ। दान गरिएको जग्गाको मूल्य ४५ लाख रुपैयाँ बढी रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया