रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान वडा नं ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी-९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि घटनास्थलतर्फ गइरहेको उल्लेख गरे । उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी गराए । “जिपमा ११ जना सवार थिए । तीमध्ये पाँच जना घाइतेको अवस्था भने मध्यम छ । जिप चालक र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ भने सनाखत हुन बाँकी छ”, उनले भने ।
पालिकाले खर्च व्यहोर्ने गर्ने गरी घाइतेको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर माग गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया